२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

शिक्षाको नवप्रवर्तनमा कामपा : ‘बुक फ्री फ्राइडे’ प्रभाव मूल्यांकनका लागि शैक्षिक मेला

draupadi film
जीवन शर्मा
२०८१ फागुन १८ गते ०६:३५
शिक्षाको नवप्रवर्तनमा कामपा : ‘बुक फ्री फ्राइडे’ प्रभाव मूल्यांकनका लागि शैक्षिक मेला

काठमाडौं : काठमाठौं महानगरपालिकाले शैक्षिक सुधार गर्दै शिक्षाको नवप्रवर्तनका लागि ३ वर्षअघि सुरु गरेको पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे)को सकारात्मक प्रभाव देखिएको छ । विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले महानगरपालिकाले शुक्रबार र शनिबार आयोजना गरेको शैक्षिक मेलामा सामुदायिक विद्यालयको ‘बुक फ्री फ्राइडे’ प्रभाव मूल्यांकन गरिएको हो । 

राष्ट्रिय सभागृहमा भएको उक्त मेलामा नेपाल भाषाको सिकाइ प्रविधि मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी मौलिक वाद्यवादन तथा गायन प्रस्तुति गरियो । मेलामा विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत इन्द्रप्रसाद दाहालले बताए ।

‘महानगरपालिकाले गत ३ वर्षदेखि सुरु गरेको पुस्तकरहित शुक्रबारको प्रभाव मूल्यांकन गर्ने मुख्य उद्देश्यले यो मेला गरेको हो’, उनले मध्यान्हसँग भने, ‘विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीमा परेको प्रभाव र यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शन भएको छ ।’

विद्यार्थीहरूबाटै भएको प्रदर्शनीबाट ‘बुक फ्री फ्राइडे’ प्रभाव सकारात्मक देखिएको छ । मेलामा विद्यार्थी नमुना संसद् अभ्यास आकर्षक देखिएको थियो । त्यस्तै, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरका नमुना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको प्रदर्शनी गरिएको छ ।

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२,२६३ जना विद्यार्थी अध्ययनरत छन् ।

तीमध्ये सबै सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार व्यावहारिक शिक्षा दिइँदै आएको महानगरपालिकाले जनाएको छ । व्यावहारिक शिक्षाका लागि विद्यालय शिक्षाको नवप्रवर्तनमा आधारित अभ्यासमा सिकाइ, भोगाइ र असल अभ्यासको आदानप्रदानमा मेला थप उपयोगी भएको शिक्षा अधिकृत दाहालले बताए ।

मेलालाई शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यावहारिक र प्रयोगात्मक कक्षाहरूको नतिजा मापन औजारका रूपमा लिइएको महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताइन् ।

‘बालमैत्री शिक्षण सिकाइबाट असल र सफल नागरिक उत्पादनमा महानगरपालिकाको जोड रहेको छ’, उनले भनिन्,  ‘महानगरले सामुदायिक विद्यालयबाट थालिएको शैक्षिक सुधारका कार्यक्रमअन्तर्गत यस पटक संस्थागत विद्यालयलाई पनि जोड्दै लैजाने योजना बनाएको छ ।’ शिक्षाको स्तरोन्नतिका लागि मेलाले थप सहयोग पुगेको उनको भनाइ छ । 

विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरूको चाहनाअनुरूप संचालन गर्नका लागि महानगरपालिकाले सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालेको छ । शैक्षिक मेलामा बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब समेटिएको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।

प्रदर्शनीको मुख्य भूमिका विद्यार्थीहरूको रहे पनि मेला आयोजनाका लागि महानगरपालिकाको शहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गरेका शिक्षा विभागले जनाएको छ ।

बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शित भए । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाले समेत अवलोकन गरेको बताइएको छ ।

सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइयो ।

चालू शैक्षिक सत्रको अन्तिममा बुक फ्री फ्राइडेका दिन २३ फागुनमा साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । यसपछि शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच, अन्तरक्रिया आयोजना गर्ने तयारीमा रहेको शिक्षा अधिकारी दाहालले जानकारी दिएका छन् ।

विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’समेत कार्यान्वयनमा ल्याइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise