काठमाडौं : नेपालमा पहिलोपटक देशव्यापी स्तरमा सञ्चालन गरिने ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ । शैक्षिक क्षेत्रको ऐतिहासिक उपलब्धि बनाउने लक्ष्यसहित आयोजना हुन लागेको यो प्रतियोगिता भदौ २० गतेबाट सुरु हुँदैछ ।
नेपालया इन्टरनेसनल इभेन्ट्स प्रालिको आयोजना तथा नेसनल स्कुल स्पोर्ट्स फेडरेसन र निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को सहकार्यमा कार्यक्रम सञ्चालन गरिने भएको हो ।
आयोजकका अनुसार यो प्रतियोगिता केवल सामान्य ज्ञान प्रतियोगिता नभएर विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास र सिर्जनशीलता विकास गर्ने राष्ट्रिय शैक्षिक अभियानको रूपमा अगाडि बढाइनेछ ।
तीन चरणमा सम्पन्न हुने प्रतियोगितामा ७७ वटै जिल्लाका पाँच हजारभन्दा बढी विद्यालयले सहभागिता जनाउनेछन् । जिल्ला स्तरमा प्रारम्भिक प्रतिस्पर्धा हुनेछ भने त्यसपछि प्रदेशस्तरीय चरण सञ्चालन हुनेछ । अन्तिम चरण ‘ग्रान्ड फिनाले’ मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा हुनेछ ।
सामुदायिक तथा निजी दुवै प्रकारका विद्यालयलाई समेटेर सहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई समान अवसर दिन खोजिएको आयोजकको भनाइ छ ।
ग्रान्ड फिनालेसम्म पुग्ने सहभागी टोलीलाई छात्रवृत्तिसहित विभिन्न शैक्षिक अवसर प्रदान गरिनेछ । विजेता टोलीले स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उपविजेता टोलीलाई ल्यापटप र गिफ्ट ह्याम्पर, तेस्रो हुने टोलीलाई मोबाइल फोनसहित पुरस्कार दिइनेछ ।
त्यसैगरी, अन्तिम चरणमा पुग्ने सबै टोलीलाई प्रमाणपत्र, ट्रफी, मेडल र सम्मान–पत्र प्रदान गरिनेछ । उत्कृष्ट क्विज मास्टर, आयोजक जिल्ला र प्रतिभाशाली विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिनेछ ।
प्रतियोगिताका प्रदेश तथा राष्ट्रिय चरणहरू टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत प्रसारण गरिने आयोजकले जानकारी दिएको छ । यसले लाखौं दर्शकहरूसम्म कार्यक्रम पुर्याउने अपेक्षा गरिएको छ ।
आयोजकले यो प्रतियोगितालाई विद्यार्थीहरूका लागि खेलकुदबाहेकको राष्ट्रिय पहिचान बनाउने दीर्घकालीन लक्ष्य लिएको बताएको छ ।