दोहा, कतार : कतारको नेपाली समाजभित्र मधेशको संस्थागत तथा व्यक्तिगत रूपमा दरिलो उपस्थिति जनाउन सक्रिय भूमिका खेलेका राजनीतिकर्मी हुसैन खान राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय सचिवमा मनोनीत भएका छन् l आफ्नो केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व टुंगो लगाएको पार्टीले सर्लाही जिल्लाका हुसैन खानलाई केन्द्रीय सचिव पदमा मनोनीत गरेको हो ।
लामो समयदेखि पार्टीमा सक्रिय रूपमा संलग्न रहँदै आएका खान सामाजिक सेवा र संगठन निर्माणमा परिचित व्यक्ति हुन् । खानको मनोनयनले मधेशमा संगठन थप सशक्त बन्ने अपेक्षा गरिएको छ । मनोनयनपश्चात हुसैन खानले पार्टीप्रति आभार व्यक्त गर्दै राष्ट्र, समाज र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्टीका अनुसार संगठन सुदृढीकरण, राष्ट्रियताको संरक्षण र सामुदायिक समावेशीकरणलाई प्राथमिकतामा राखेर नयाँ नेतृत्व गठन गरिएको हो । सर्लाहीका राजेन्द्र महतोको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा देशभरका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी पदाधिकारी चयन गरिएको छ ।