काठमाडौं : बौद्ध क्षेत्रमा यो वर्ष पनि परम्परागत गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई जात्रा) भव्य रूपमा मनाउने तयारी पूरा भएको छ । श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजनमा र काठमाडौं महानगरपालिका–६ को सक्रियतामा साउन २५ र २६ गते यो पर्व मनाउने कार्यक्रम तय गरिएको छ ।
गुठीको पहलमा नेवार र तामाङ समुदायको सांस्कृतिक विशेषता झल्काउने गाईजात्रा र रोपाइँजात्रा जस्ता पर्वहरू हरेक वर्ष आयोजना हुँदै आएका छन् । पर्वको सफल आयोजनाका लागि काठमाडौं महानगरपालिकाको संस्कृति संरक्षण कोषबाट आवश्यक सहयोग प्राप्त भएको घोनाई जात्रा मूल समारोह समिति–२०८२ का प्रवक्ता सम्पूर्णकुमार लामाले जानकारी दिए ।
यो वर्षको जात्रामा १३ विधामा प्रतियोगिता हुने छ । हल गोरु, रोपार, बाउसे, लाखे, झाँकी, हास्यव्यंग्य, मौलिक नाचदेखि विद्यालयस्तरीय प्रस्तुति सम्म समावेश गरिनेछ । विजेता समूहलाई नगद पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।
समितिका संयोजक जयमंगल लामाका अनुसार रोपाइँजात्रा जस्ता मौलिक सांस्कृतिक पर्वहरू संरक्षण गर्नु आजको आवश्यकता हो । स्थानीय समुदाय, संघसंस्थाको सहयोगमा यस्ता सांस्कृतिक धरोहरहरूलाई निरन्तरता दिन गुठीले भूमिका खेलिरहेको उनले बताए ।
‘घोनाई’ भनेर चिनिने यो जात्रा जनैपूर्णिमा देखि सुरु भई गाईजात्रा हुँदै रोपाइँजात्रासम्म चल्ने सांस्कृतिक शृंखला हो । क्वाँटी खाने, खेत र कुलदेवतामा पूजाआजा गर्ने परम्परा, र दिवंगत आफन्तको स्मृतिमा पात्रहरू बनाएर प्रस्तुत गर्ने चलन यस जात्रामा विशेष छन् ।
रोपाइँजात्राको उत्पत्ति सम्बन्धी ठोस प्रमाण नपाइए पनि मल्लकालीन इतिहास र जनश्रुतिहरूले यसको गहिरो सांस्कृतिक पृष्ठभूमि औंल्याउँछन् । गाईजात्रालाई राजा प्रताप मल्लले सुरु गरेको भनिए पनि रोपाइँजात्राको विकास त्यसपछि क्रमशः भएको मानिन्छ ।
हास्य, व्यंग्य र भावुक स्मृतिको संगम बनेको यो जात्राले शोकलाई संस्कारमा रूपान्तरण गर्दै जीवनका यथार्थसँग हाँसी–खुसी अघि बढ्न प्रेरणा दिने आयोजकहरूको विश्वास छ ।