कपिलवस्तु : नेपाल–भारत सीमाका संवेदनशील नाकाहरूमा विगत दुई दशकदेखि मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध सक्रिय संस्था ‘आफन्त नेपाल’ सयौं चेलीहरूको जीवनमा परिवर्तन ल्याउने सफल मिसनमा अग्रसर देखिएको छ ।
सन् २०६४ सालदेखि सुरु भएको संस्थाको प्रयासले मानव बेचबिखनमा परेका, जोखिममा रहेका र हिंसाको सिकार भएका महिला तथा किशोरीहरूको उद्धार मात्र नभई उनीहरूलाई आत्मनिर्भर जीवनतर्फ डोहो¥याउने दीर्घकालीन यात्रामा महत्वपूर्ण सफलता हासिल गरेको छ ।
पश्चिम महेन्द्रनगरदेखि पूर्व झापा सम्मका सीमा क्षेत्रमा संस्था सक्रिय रहेको छ । स्वयंसेवक र सुरक्षाकर्मीहरूको सहकार्यमा सीमामा अवैध रुपमा लैजान लागिएका चेलीहरूको सोधपुछ, निगरानी र तत्काल उद्धारमार्फत मानव तस्करी नियन्त्रणमा टेवा पुगेको छ । सूचना संकलन र प्रसारणको संयन्त्र मजबुत बनाउँदै संस्था सयौं जीवन बचाउन सफल भएको छ ।
संस्थाको मुख्य विशेषता भनेको उद्धारपछिको पुनस्र्थापनामा केन्द्रित हुनु हो । सुरक्षित आवासमा राखिएका चेलीहरूलाई सिलाइ–कटाइ, शृंगार तालिम, इलेक्ट्रोनिक्स, बेकरीजस्ता आयमूलक सीप तालिम प्रदान गरिन्छ । साथै, व्यवसाय सुरु गर्न आवश्यक सामग्रीसमेत दिइने गरिएको छ ।
यसले गर्दा धेरै चेलीहरू आत्मसम्मानसाथ समाजमा पुनःस्थापित भएका छन् । उनीहरू आत्मनिर्भर बनेका छन् र हिंसाविरुद्ध आवाज उठाउन सक्ने अवस्थामा पुगेका छन् ।
‘आफन्त नेपाल’ले व्यक्तिगत उद्धारसँगै समाजलाई सचेत बनाउन पनि सक्रिय भूमिका खेलेको छ । विद्यालय, महिला समूह, युवा क्लबहरूमा विभिन्न चेतनामूलक कार्यक्रम, अन्तरक्रिया र संवाद सत्रमार्फत समाजमा प्रतिरोधको चेतना फैलाइएको छ ।
त्यसैगरी, स्थानीयस्तरमा लघुउद्यम सहयोग, महिला सशक्तीकरण र आयआर्जन कार्यक्रममार्फत आर्थिक आत्मनिर्भरता प्रवद्र्धन गर्ने काम पनि जारी छ ।
स्थानीय तहदेखि संघीय सरकारसम्म, सुरक्षा निकायदेखि सञ्चारमाध्यमसम्म समन्वय गर्दै ‘आफन्त नेपाल’ले सामाजिक उत्तरदायित्व र मानवअधिकार संरक्षणमा उदाहरणीय कार्य गर्दै आएको छ ।
मानव बेचबिखनमुक्त समाजको कल्पनालाई साकार बनाउन यस्ता संस्थाहरूको भूमिका आधारस्तम्भको रूपमा देखिएको छ । उनीहरूले बचाएका चेलीहरू मार्फत न्याय, सम्मान र स्वतन्त्रता सुनिश्चित हुने समाज निर्माण हुँदै गएको छ ।