२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकारबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

Nada
२०८२ साउन २२ गते १८:३४
Shares
चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकारबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहाः कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

ncell

लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको आज एक समारोहबीच उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चुरेको दीर्घकालीन संरक्षणले मधेसमा देखिएको वातावरणीय समस्या समाधान हुने उल्लेख गरे । 

‘नेपालको अर्थतन्त्रलाई अघि बढाउने क्रममा सहरी विकास तथा भवन निर्माण विभागले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दछु’, उनले भने । भवन निर्माण समयमै सम्पन्न गरेकामा प्रशंसा गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यसले आयोजना समयमै सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको उल्लेख गरे । भवनको सही व्यवस्थापन र उपयोग गरिनुपर्नेमा उनले जोड दिए ।  

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्लाको कृषि क्षेत्रको विकासका लागि कमला नदी र कोशी नदीबाट पानी ल्याई सिँचाइ आयोजना निर्माण गर्न आवश्यक रहेको बताए । किसानलाई आवश्यक मलखाद सहज रुपमा उपलब्ध गराउन उनले सरकारसँग माग गरे ।

लहानका नगरप्रमुख महेशप्रसाद चौधरीले लहानलाई वीरगञ्ज र जनकपुरपछिको तेस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा चिनाउँदै, सुविधा सम्पन्न भवनले नगरको आर्थिक गतिविधि अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख सुरेन्द्रकुमार साहका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीअन्तर्गत लहान–६ र ७ मा रु ३१ करोड ८८ लाखको लागतमा उक्त बहुउद्देश्यीय भवन निर्माण गरिएको हो । सो भवन लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

सम्बन्धित खबर