पर्सा : पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–५ बिरंचीबर्वा गाउँमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा फरार रहेका एक १४ वर्षीय किशोर पाँच महिनापछि पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले सावन २२ गते उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लामसालले जानकारी दिए ।
गत चैत १३ गते ती किशोरले बालिकालाई ललाइफकाइ घर बाहिर लगेर बलात्कार गरेको आरोप छ । घटनापछि पीडित बालिकाका बाबुले इलाका प्रहरी कार्यालय पोखरियामा जानकारी गराएपछि प्रहरीले बालिकाको मेडिकल परीक्षण गराएको थियो । परीक्षण रिपोर्टमा बलात्कार पुष्टि भएपछि चैत १४ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको थियो ।
पाँच महिनासम्म फरार रहेका ती किशोरलाई प्रहरीले निरन्तर निगरानी र दबाबपछि पक्राउ गर्न सफल भएको हो । अहिले उनलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।