अछाम : त्त्कालीन माओवादीको आक्रमणमा ध्वस्त भएको अछाम दरबारको पुनर्निर्माण सम्पन्न भएको छ ।
४ फागुन २०५८ मा तत्कालीन विद्रोही माओवादीले आक्रमण गर्दा दरबार ध्वस्त भएको थियो । दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालतलगायतका कार्यालय थियो । तर माओवादी आक्रमणका बेला जिल्ला प्रशासन कार्यालय मात्र थियो ।
आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए । घटनामा नेपाली सेनाका ५३ जवान, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको मृत्यु भएको थियो ।
अछाम दरबार झन्डै १५० वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहका पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहका पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको थियो ।
१६ वर्षमा दरबारको पुनर्निर्माण भएको हो । २ करोड ४८ लाख रुपैयाँमा पुनर्निर्माण सम्पन्न भएको सहरी विकास मन्त्रालयका महानिर्देशक मचाकाजी श्रेष्ठले बताए । उनका अनुसार दरबार ३ सय २० वर्गमिटरमा बनेको छ भने दरबार क्षेत्रको जम्मा क्षेत्रफल ९ सय ६० वर्गमिटर रहेको छ । दरबार परिसरको संरचना र संरक्षणका लागि चालु आवमा मन्त्रालयले मातहत कार्यालयबाट बजेट चलाउन मिल्ने गरी २ करोड बजेट छुट्याइएको र टेन्डर आवाहन भइसकेको उनले बताए ।
संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुनर्निर्मित दरबारको उद्घाटन गरे । सहरी विकास मन्त्रालय मातहतहत निर्माण भएको दरबार अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई मन्त्री सिंहले हस्तान्तरण गरे ।
अछाम दरबारमा साविकका कार्यालय सञ्चालन गर्ने कि संग्राहलयका रुपमा विकास गर्ने भन्नेबारे छलफल भइरहेको सांसद पुस्पबहादुर शाहले बताए । ऐतिहासिक दरबारलाई संग्राहलय बनाउने विषयमा धेरै ठाउँबाट सुझाव आएको उनको भनाइ छ ।
दरबार संरक्षणका लागि मन्त्रालयले बजेट उपलब्ध गराउनुपर्ने मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए ।