काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनको विषय टुंगो लगाउन छलफल जारी छ । सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको सहमति भएपनि त्यसले मूर्तरुप पाउन सकेको छैन । सोही विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार पुनः छलफल भएको हो । यसअघि बिहीवार पनि ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो ।
दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि मन्त्रिपरिषद् पुनर्गठनको विषय टुंगोमा पुगेको छैन । भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको छैन । तर पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुगेको नेकपा स्रोतले जानकारी दियो ।
गत आइतबार बसेको सचिवालय बैठकमा सरकारलाई थप प्रभावकारी बनाउन आवाश्यक रहेको भन्दै मन्त्रिमण्डल हेरफेर गर्न प्रस्ताव गरिएको थियो । जसमा विभिन्न तीन विकल्पमा छलफल भएपनि कुन विकल्प कार्यान्वयन गर्ने भन्नेमा दुई अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।
सचिवालयले निर्णय नगरेपछि उचित मापदण्ड तय गरेर त्यसैका आधारमा मन्त्रिमण्डल हेरफेर गर्न नेताहरु सहमत हुँदै दुवै अध्यक्षलाई जिम्मेवारी दिएका थिए । बिहीबार दुई अध्यक्षबीचको छलफलमा पनि सबै मन्त्री फेर्ने वा दुई वर्ष पुरा भएकालाई हटाउने र बाँकी राख्ने अथवा राम्रा काम गरेकालाई राख्दै अन्यलाई फेरवदल गर्ने भन्ने विकल्पमा छलफल भएपनि निर्णय भैनसकेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले केही नेताहरुलाई मात्रै विदाई गरेर रिक्त स्थान परिपूर्ति गर्ने पक्षमा छन् । तर, अध्यक्ष दाहाल दुई वर्षे कार्यकाल पूरा भइसकेकाहरुलाई बिदा गरेर नयाँलाई ल्याउने पक्षमा रहेको बुझिएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच यही विषयमा सहमति हुन नसकेको नेकपा स्रोतले जानकारी दियो ।
पार्टीभित्रको लामो संघर्षपछि सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेकाले कसलाई लैजाने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको बुझिएको छ । अध्यक्षद्वयको सहमतिपछि मात्रै मन्त्रिपरिषद् हेरफेर प्रक्रिया अघि बढ्छ । यता वरिष्ठ नेता माधवकुमार नेपालले पनि सरकारलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सबै मन्त्रीहरु फेर्नुपर्ने पक्षमा छन् ।
त्यस्तै अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनसहित संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने लगायतका विषयमासमेत छलफल भएको छ । संवैधानिक निकायमा पनि नियुक्तिका लागि प्रतिपक्षी दल सहितलाई साथमा लिएर अघि बढने तयारी नेकपाको छ । एकताको काम भने असोजभित्र टुंग्याउने नेताहरुले बताउँदै आएका छन् ।
नेकपामा ३२ विभाग, ५ निकाय (अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), जनसंगठनहरू, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ । केही केन्द्रीय सदस्यको जिम्मेवारी पुनरावलोकनका लागि पनि स्थायी कमिटी बैठकले अनुमति दिइसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies