२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

महँगीको मारमा नागरिक, गत वर्ष भन्दा चार गुणा मूल्यवृद्धि  

नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असोजमा १.४७ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०८३ असोजमा ६.३७ प्रतिशत पुगेको छ ।

Nada
छबि सापकोटा
२०८३ मंसिर ४ गते १४:२०
Shares
महँगीको मारमा नागरिक, गत वर्ष भन्दा चार गुणा मूल्यवृद्धि  

काठमाडौं : महँगीको मारमा आम नागरिक परेका छन् । दैनिक उपभोग्य खाद्य वस्तु, फलफूल, माछामासुदेखि यातायात र दैनिक प्रयोग हुने बस्तुको मुल्य ह्वात्तै बढेको छ ।

गतको असोजमा तुलनामा चालु आर्थिक वर्षमा चार गुणा मूल्यवृद्धि दर  बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असोजमा १.४७ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०८३ असोजमा ६.३७ प्रतिशत पुगेको छ । यस्तै चालु आर्थिक वर्षको तीन महिनाको औसत मुद्रास्फीति पनि गत आव सोही अवधिको १.६७ प्रतिशतबाट बढेर ६.२२ प्रतिशत पुगेको हो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.४४ प्रतिशत बढेको छ भने फलफूलको १५.४६, चिनी तथा चिनीजन्य पदार्थ ११.८४, माछा तथा मासु ८.९१, मरमसला ७.७१ र तरकारीको ७.२८ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा छ ।  यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.९७ प्रतिशत, मदिराजन्य पेय पदार्थ ८.८३, कपडा तथा जुत्ताचप्पल ७.०६, फर्निसिङ तथा घरायसी उपकरण ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशत बढेको छ ।

सहरमा भन्दा गाँउमा मुल्य वृद्धिदर बढी देखिएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.६३ प्रतिशत बढ्दा सहरी क्षेत्रको मूल्य सूचकांक ६.२८ प्रतिशत बढेको छ । यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९२, तराई ६.८८, पहाड ६.१४ र हिमालको ५.५७ प्रतिशत छ ।

भारतमा  भन्दा नेपालमा उपभोक्ता मुद्रास्फीति बढी देखिएको छ । असोजमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहँदा सन् २०२६ अक्टोबरमा भारतमा यस्तो मुद्रास्फीति ६.०९ प्रतिशत छ ।

विदेशी मुद्रा सञ्चितिले  अर्थतन्त्र थप बलिलो

नेपालको विदेशी मुद्रा सञ्चिति अर्थतन्त्रलाई बलिलो राखेको छ । असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति तीन महिनामा ६.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा गणना गर्दा पनि  बिदेशी सञ्चिति ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड डलर रहेको थियो ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिति ६.४ प्रतिशतले बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यसैगरी, समीक्षा अवधिमा नेपालको चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो । त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो ।चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ । तीन महिनामा ४ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिकको पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर