काठमाडौं : नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य अलराउण्डर आदिल अन्सारी रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतियोगितामा फिक्सिङ भएको भन्दै चौतर्फी आवाज उठेपछि सीआईबीले अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानको आधारमा नेपालका मेहबुव र आदिललाई पक्राउ गरिएको हो ।
गत महिना भएको टी–२० लिग शुरुदेखि नै विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए ।
यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेको थिए । त्यसपछि गृह मन्त्रालयको निर्देशनमा सीआईबीले अनुसन्धान थालेको थियो ।
आदिलले नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । खेलको दौरानमा आदिलले फ्यालेको एक नो बल चर्चाको सँगै विवादमा परेको थियो । आदिलले फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरमा फ्यालेको नो बलका कारण उनीमाथि फिक्सिङको शंका बढेको थियो । महबुबले भने स्पट फिक्सिङका लागि बाहिरबाटै भूमिका खेलेको बताइएको छ ।
नेपाल टी–२० लिगको विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियासँग मिलेर स्पट फिक्सिङ गरेको सीआईबी स्रोतले जनाएको छ । सीआईबीले अनुसन्धान अन्तिम चरणमा पु¥याएको पनि जनाएको छ । अब मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाउने योजना सीआईबीको छ ।
महबुब एकदिवसीय क्रिकेटको एकै खेलमा विपक्षीको सबै १० विकेट लिने कीर्तिमानी नेपाली खेलाडी हुन् । महबुबले सन् २००८ मा जर्सीमा भएको विश्व क्रिकेट लिगको डिभिजन–५ मा यो कीर्तिमान बनाएका थिए । उनले उक्त प्रतियोगितामा मोजाम्बिकविरुद्ध सबै १० विकेट लिएका थिए । लेफ्ट आर्म मिडियम पेसर महबुब सप्तरी राजविराजका हुन् । उनले सन् २००४ को मार्चमा भएको युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा पहिलो पटक नेपाली टिमबाट खेलेका थिए ।
यता १९ वर्षीय आदिललाई नेपाली टिमको उदाउँदो अलराउण्डरको रुपमा हेरिएको थियो । बलिङ र ब्याटिङमा उत्तिकै पोख्त आदिलको जन्म बाराको सिमौरनगढमा भएको थियो ।
आदिलले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि जुनमा अमेरिका भ्रमणमा रहँदा नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । उनले अमेरिकामा घरेलु टिमविरुद्ध नै नेपालबाट पहिलो खेल खेलेका थिए ।
आदिलले टी–२० क्रिकेटमा भने कीर्तिपुरमै भएको पपुवा न्यु गिनीविरुद्धको मार्चमा भएको शृंखलामा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका थिए । उनले राष्ट्रिय टिमबाट पछिल्लो पटक २०२२ को जुलाईमा एकदिवसीय र अगस्टमा केन्याविरुद्ध टी–२० खेल खेलेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies