विश्वव्यापी कोभिड महामारीका कारण गएको चैत ११ गतेदेखि बन्द रहेका सामुुदायिक तथा निजी विद्यालय खुल्न सकेको छैन । निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेपनि सामुदायिक विद्यालयहरु बन्द छन् । असोजको पहिलो साताबाट भने मोफसलका विद्यालयहरु खुल्न थालेका छन् । तराई मधेशका केही जिल्ला, पहाडी क्षेत्र र हिमाली जिल्लाहरुमा सामुदायिक विद्यालय खुल्न थालेका हुन् । तर, स्थानीय स्तरको पहलबाट ती विद्यालय खुल्न थालेका हुन् । देशब्यापी रुपमा सरकारले भने विद्यालय खुलाएको छैन ।
बिना अध्ययन अकस्मात लकडाउन गरिदा गएको शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) समेत प्रभावित बनेको थियो । प्रवेशपत्र हातमा लिइसकेका परीक्षार्थीहरु झण्डै तीन महिना अन्योल र तनावमा परे । त्यसपछि भने सरकारले विद्यालयले दिएको प्राप्ताङ्कको आधारमा एसईई परीक्षाको बाटो खुला गरिदियो । तर, अहिले पनि २७ हजार सामुदायिक विद्यालयका ६० लाख बढी बालबालिका पठनपाठनबाट बञ्चित छन् । करीब १५ लाख विद्यार्थीले भने निजी विद्यालयले चलाएको अनलाइन कक्षा लिइरहेका छन् ।
भदौ मसान्तसम्म कायमै रहेको लकडाउन र निषेधाज्ञाका कारण ७५ लाख बालबालिकाले यो शैक्षिक सत्र झण्डै आधा त गुमाइसकेका छन् । जबकी, महामारीको प्रभाव उच्च जनसंख्या रहेको शहरी क्षेत्रमा बढी छ भने पहाडी तथा हिमाली जिल्लाहरुमा ठूलो असर गरेको छैन । तर, सरकारले पुरै देशब्यापी लकडाउन र स्थानीय रुपमा निषेधाज्ञा गरेपछि बालबालिका पठनपाठनबाट बञ्चित हुन पुगे । विश्वव्यापी महामारीबाट बच्न आवश्यकता सतर्कता अपनाउन जरुरी भएपनि सम्पूर्ण गतिविधि ठप्प पार्नु उचित हुन्थ्यो कि हुँदैनथ्यो भन्नेबारे राम्ररी अध्ययन हुन नसक्दा लाखौं बालबालिका मानसिक तनावमा परेका छन् ।
यसर्थ, अब पनि सरकारले देशब्यापी निर्णय लिनु भन्दा पनि कम जोखिम रहेको क्षेत्रहरुमा कक्षा सञ्ञ्चालन गर्नु उचित हुनेछ । त्यसैपनि ६० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयको संख्या अधिक छन् । त्यो भन्दा धेरै विद्यार्थी भएका विद्यालयमा पनि आवश्यक सतर्कता अपनाउँदै कक्षा सञ्चालन गर्नु उचित हुनेछ । त्यसै पनि विद्यालय बन्द रहने अवधिलाई लामो समय लम्ब्याउँदै लैजानु मात्रै महामारी रोकथामको विकल्प होइन, बरु सावधानी अपनाउँदै आवश्यक सक्रियता बढाउनु छदैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies