
काठमाडौँ : डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटासहित केन्द्रीय प्रहरी टोली डोल्पा पुगेको छ ।
केन्द्रीय प्रहरी टोलीको नेतृत्व एसएसपी राजीव बस्नेतले गरेका छन् । दुवै टोलीले कारागारको सुरक्षा व्यवस्था, कैदीबन्दी फरार हुनुअघिको अवस्था तथा सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको सम्भावित कमजोरीबारे स्थलगत अध्ययन गर्ने कर्णाली प्रदेशका एसएसपी सन्तोषसिंह राठौरले जानकारी दिएका छन् ।
कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
यसैबीच, फरार कैदीबन्दीमध्ये दुई जनालाई रुकुम पश्चिमबाट प्रहरीले पक्राउ गरेको छ । बाँकी फरार कैदीबन्दीको खोजी कार्य तीव्र पार्दै प्रहरीले सम्भावित नाका तथा आवतजावत हुने क्षेत्रमा निगरानी बढाएको छ ।
प्रहरीका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना थिए । उनीहरूमध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका थिए भने दुई जना पुर्पक्षका लागि थुनामा रहेका थिए ।
घटनापछि कारागारको सुरक्षा व्यवस्थापन र सुरक्षाकर्मीको निगरानी प्रणालीमा भएको कमजोरीबारे छानबिन केन्द्रित हुने बताइएको छ ।