२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

विशिष्टको सुविधा घटाएर जनताको सुविधा बढाउनुपर्छ : डा.भण्डारी

Nada
२०८१ चैत १ गते २१:२५
Shares
विशिष्टको सुविधा घटाएर जनताको सुविधा बढाउनुपर्छ : डा.भण्डारी

गुल्मी : नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारीले अतिविशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गरेका छन् । 

ncell

नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले देश आर्थिक संकटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे । गुल्मी क्षेत्र नम्बर २ का सांसद समेत रहेका उनले विशिष्ट व्यक्तिका सेवासुविधा कटौती गरेर जनताको सुविधा बढाउनुपर्नेमा जोड दिए । 

अहिलेका शीर्ष नेताहरूबाट देश नबन्ने दाबी गर्दै उनले उनीहरूलाई सम्मानजनक रुपले विस्थापित गरी आफूहरुले देशलाई निकास दिन लागि परेको बताए । 

नेता भण्डारीले नयाँ पुस्ताका नेताहरूलाई साथ दिन देशभरका मतदाताहरूलाई आग्रह समेत गरे । उनले भने, ‘पुराना नेताहरू सच्चिने अवस्था देखिएन, त्यसैले नयाँ पुस्ताका नेताहरूलाई मौका दिनु नै अहिलेको निकासको मुख्य उपाय हो ।’ पुराना नेताहरूको व्यवहारकै कारण राजावादीहरूको आत्मबल बढेको तर्क गर्दै उनले नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, बरु पुराना नेताहरूको विकल्प नयाँ नेताहरू हुन सक्छन् यही व्यवस्थाभित्र सुधारका लागि लाग्नुपर्छ’ उनले भने । 

भण्डारीले देशका हरेक मोडमा निकासको नेतृत्व सधैं कांग्रेसले मात्रै गरेको दृष्टान्त प्रस्तुत गर्दै अब पनि कांग्रेसले नै निकास दिने दाबी गरे । उनले सबैभन्दा बढी सम्भावना कांग्रेसबाटै भएकाले यसको विकल्पमा नलाग्न पनि शुभेक्षकहरूलाई आह्वान गरे । 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, कांग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठ, जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभइ खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खबर