काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको पुनः एकपटक छानविन गर्न जरुरी रहेको बताएका छन् ।
समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफूले तत्कालीन समयमा र गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि पनि दरवार हत्याकाण्डको पुनः छानविन गर्नुपर्ने भन्दै आएको बताए ।
सिन्धुपाल्चोकमा शुक्रबार पनि उनले पूर्वराजा ज्ञानेन्द्रलाई वंशनाश गर्ने भाइमारा, मूर्तिचोर र सुन तस्करीको नाइकेको संज्ञा दिएका थिए ।
सोही सन्दर्भमा पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘आफूले पुरानै तथ्यमा आधारित भएर अभिव्यक्ति दिएको हुँ । एकपटक दरबार हत्याकाण्डको पुनः छानविन आवश्यक छ ।’
‘मैले हिजो जे बोलेको छु, त्यो धेरै पहिलादेखि नै बोलिराखेको कुरा हो । दरबार हत्याकाण्ड भएको लगतै, जतिबेला हामी भूमिगत थियौं, त्यतिबेला पनि यही कुरा बोलिएको थियो । म पहिलो चोटी गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि पनि त्यही कुरा बोलिएको थियो । मैले छानविन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेला नै भनेको थिएँ ,’ उनले भने ।
दाहालले राजावादीको प्रदर्शनले झस्केको नभई गणतन्त्रका पक्षधरहरूले जनतासमक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको बताए ।
समाजवादी मोर्चा सरकारमा जानका लागि नभई मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको उनले स्पष्ट पारे ।