त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव दलहरुका निम्ति मुख्य एजेण्डा बनेको छ । मिनि मध्यावधि समेत मानिने स्ववियू चुनावका निम्ति आंगिक र सम्बन्धन प्राप्त गरी एक हजार बढी क्याम्पसहरुमा अहिले चुनावी चहलपहल छ । आगामी ५ चैतमा मतदान हुने भएकाले पनि प्रचार–प्रसारको समय लगभग सकिएको छ । दलगत विद्यार्थी संगठनका तर्फबाट र स्वतन्त्र उम्मेद्वारी दिएका विद्यार्थीहरुले आ–आफ्ना पक्षमा मत मागिरहेका छन् । मौन अवधि सुरु भइसकेकाले क्याम्पस परिसरमा मत माग्ने कार्य रोक लागिसकेको छ । यद्यपि सामाजिक सञ्जालका माध्यमबाट उम्मेद्वारहरुले मत मागिरहेका छन् । विद्यार्थी संगठनका केन्द्रिय नेताहरु आफ्ना उम्मेद्वार जिताउन खटिएका छन् ।
तर आमसञ्चार माध्यमहरुमा भने चुनाव हुने भन्दा पनि नहुने क्याम्पसहरुको चर्चा चलिरहेको छ । सवैभन्दा बढी चर्चा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरकै छ । त्यहाँ नेपाली कांग्रेस निकट नेवि संघको आन्तरिक विवादका कारणले चुनावी प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्रिवि जस्तै समस्या राजधानीका ठूला क्याम्पसहरुमा पनि छ । शंकरदेव, नेपाल ल क्याम्पस, विश्वभाषा, थापाथली कलेज, पद्यकन्या र पब्लिक युथ क्याम्पसमा चुनावी प्रक्रिया अवरुद्ध छ । देशभरका अरू ११ आंगिक क्याम्पसमा पनि चुनावी प्रक्रियामा समस्या छ । यी क्याम्पसहरूमा चुनावी प्रक्रिया प्रभावित बन्नुमा नेतृत्व हत्याउने स्वार्थ नै हो । त्यस्तो स्वार्थ अन्तर संगठनबीच मात्र नभएर आफ्नै संगठनभित्र पनि देखिएको छ ।
उच्च शिक्षा अध्ययन गरिररहेका विद्यार्थीहरुकै चुनावमा समस्या देखिनु राम्रो संकेत होइन । किनकि यो चुनावका मतदाता स्नातक अध्ययन गरिरहेका विद्यार्थीहरु हुन् । एकहिसाबले भोलि देश हाँक्ने मानिसहरु यो चुनावी प्रक्रियामा छन् । विगतका नजीर हेर्दा पनि स्ववियू चुनावका उत्पादन भोलि देशकै नेता हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समेत स्ववियूकै उत्पादन हुन् । राजनीतिक क्षेत्रमा मात्र नभएर प्रशासनिक, सुरक्षा निकाय लगायत हरेक क्षेत्रमा विद्यार्थी राजनीतिका उत्पादनहरू छन् । तसर्थ स्ववियू चुनावलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गरिन आवश्यक छ । स्ववियू चुनावमा हुने अभ्यास भोलि देशकै अभ्यास हो । तर जसरी पनि जित्ने बिकृत राजनीतिको प्रभाव स्ववियू चुनावमा परिरहेको छ । निर्धारित मितिमा चुनाव नभएका क्याम्पसहरु शक्ति संघर्षकै उदाहरण हुन् ।