
नेपाली क्रिकेटले सीमित स्रोतसाधन र कमजोर पूर्वाधारका बीच अन्तर्राष्ट्रिय पहिचान बनाएको छ । खेलाडीको प्रतिभा, मिहिनेत र समर्थकको मायाले क्रिकेटलाई विश्वमञ्चसम्म पु¥याएको हो । अब यो उपलब्धिलाई दिगो विकासमा रूपान्तरण गर्नु आवश्यक छ । नेपाल प्रिमियर लिग (एनपिएल)ले त्यसका लागि नयाँ सम्भावना खोलेको छ ।
सन् २०२४ मा सुरु भएको एनपिएल छोटो समयमै नेपाली क्रिकेटको प्रमुख आकर्षण बनेको छ । विदेशी खेलाडीको सहभागिता, दर्शकको उत्साह, प्रसारणको विस्तार र व्यावसायिक लगानीले यसको महत्त्व बढाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मान्यता र निर्णय समीक्षा प्रणाली (डिआरएस)जस्ता प्रविधिको प्रयोगले प्रतियोगिताको विश्वसनीयता बढाउन सहयोग गरेका छन् । एनपिएलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर दिएको छ । यसबाट खेलाडीले खेलको रणनीति, अनुशासन र व्यावसायिक अभ्यास सिक्न सक्छन् । तर, विदेशी खेलाडीको सहभागिता र अन्तर्राष्ट्रिय मान्यताले मात्रै नेपाली क्रिकेटको भविष्य सुनिश्चित गर्दैन । खेलाडीको क्षमता विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनीहरूको प्रभावकारी उपस्थितिले मात्र यसको वास्तविक उपलब्धि देखाउँछ ।
प्रतियोगिताको आर्थिक सम्भावना पनि उत्तिकै महत्त्वपूर्ण छ । टिकट बिक्री, प्रसारण अधिकार र प्रायोजनबाट हुने आम्दानीले क्रिकेटलाई व्यावसायिक बनाउन सक्छ । दोस्रो संस्करणमा ४७ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको विवरणले यसको सम्भावना देखाउँछ । तर, आम्दानीको आकार मात्र सफलता मापन गर्ने आधार बन्नु हुँदैन । प्राप्त स्रोत समग्र क्रिकेट विकासमा कसरी उपयोग हुन्छ भन्ने मुख्य प्रश्न हो । एनपिएलसँगै पारदर्शिता, जवाफदेहिता र खेलको निष्पक्षता सुनिश्चित गरिनुपर्छ । आम्दानी र खर्चको स्पष्ट विवरण सार्वजनिक गर्ने, खेलाडीको सुरक्षा सुनिश्चित गर्ने र म्याच फिक्सिङजस्ता अनियमितता रोक्ने प्रभावकारी व्यवस्था आवश्यक छ । क्रिकेटको विकास काठमाडौंमा मात्र सीमित हुनु हुँदैन । पोखरा, जनकपुर, विराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीजस्ता सहरमा आवश्यक पूर्वाधार विकास गरी प्रतियोगिता विस्तार गर्न सकिन्छ । यसले स्थानीय प्रतिभालाई अवसर दिनुका साथै खेल पर्यटन प्रवर्धन गर्न सक्छ ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष विद्यालयस्तरदेखि प्रतिभा पहिचान, उमेर समूहका प्रतियोगिता, प्रशिक्षक उत्पादन र महिला क्रिकेटमा लगानी बढाउनु हो । घरेलु प्रतियोगितालाई नियमित र प्रतिस्पर्धात्मक बनाउन सके मात्र राष्ट्रिय टोलीको आधार बलियो हुन्छ । एनपिएलको सफलता दर्शकको भिड, चर्चित खेलाडीको सहभागिता र आम्दानीमा मात्र मापन गरिनु हुँदैन । यसबाट प्राप्त लाभ युवा प्रतिभा, महिला क्रिकेट, घरेलु प्रतियोगिता र पूर्वाधार विकासमा पुग्नुपर्छ । एनपिएललाई लोकप्रिय प्रतियोगिताबाट समग्र नेपाली क्रिकेटको विकासको माध्यम बनाउन सके मात्र यसको वास्तविक उपलब्धि स्थापित हुनेछ ।