२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

सुरक्षित बनोस् दसैं

Nada
२०८३ असोज २६ गते ०६:१०
Shares
सुरक्षित बनोस् दसैं

दसैं उल्लास र उमंगको पर्व हो । परिवारसँग भेटघाट गर्ने, आफन्तसँग खुसी साट्ने र गाउँघर फर्किने समय पनि हो । तर चाडपर्वको खुसी सुरक्षित वातावरणमा मात्र सम्भव हुन्छ । चोरी, लुटपाट, ठगी, कालोबजारी, सवारी दुर्घटना र अन्य आपराधिक गतिविधिले दसैंको खुसी खोस्न सक्छन् । यसैलाई दृष्टिगत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दसैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेका छन् । नेपाल प्रहरीले ५० हजारभन्दा बढी र सशस्त्र प्रहरीले २८ हजार १२६ जना सुरक्षाकर्मी परिचालन गरेका छन् । थप चार हजार ५०० सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको छ । ड्रोन, सिसिटिभी र शरीरमा जडान गरिने क्यामराको प्रयोगबाट निगरानी गर्ने तयारी पनि गरिएको छ ।

ncell

यात्रु सहायता कक्ष, सीमा सहायता केन्द्र, गस्ती र जाँचलाई प्रभावकारी बनाउने योजना छ । मुख्य राजमार्गमा दुर्घटना न्यूनीकरण र तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ । सम्भावित ठुला दुर्घटनालाई ध्यानमा राखेर उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको छ । यी प्रयासले नागरिकलाई सुरक्षित यात्राको वातावरण बनाउन सहयोग पुग्न सक्छ । तर सुरक्षाकर्मीको संख्या बढाउँदैमा सबै चुनौती समाधान हुँदैनन् । सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, म्याद गुज्रिएका तथा मिसावटयुक्त वस्तु बेच्ने, टिकटमा ठगी गर्ने र यात्रुलाई दुःख दिने प्रवृत्तिमाथि कडा निगरानी आवश्यक छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र भिडभाड हुने बजार क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाउनुपर्छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैंगिक र यौनिक अल्पसंख्यक समुदायको सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्छ । 

चाडपर्वमा घर खाली गरेर गाउँ जानेको संख्या पनि ठुलो हुन्छ । घरको सुरक्षामा ध्यान दिने, अपरिचित व्यक्तिसँग सावधानी अपनाउने र शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी दिने बानी आवश्यक छ । मादकपदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा गाडी हाँक्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति रोक्न नागरिक स्वयं पनि सचेत हुनुपर्छ । दसैंको खुसी कसैको असावधानी वा अपराधका कारण दुःखमा बदलिनु हुँदैन । सुरक्षा निकायले योजना कागजमा मात्र सीमित नराखी प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । नागरिकले पनि नियम पालना गर्दै जिम्मेवार व्यवहार गर्नुपर्छ । सुरक्षित यात्रा, भरपर्दो सुरक्षा र सहज बजार व्यवस्था सुनिश्चित गर्न सके मात्र दसैं सबैका लागि खुसीको पर्व बन्न सक्छ ।

सम्बन्धित खबर