काठमाडौं : अर्थतन्त्र चलाउनमान हुन नसक्दा घरजग्गाको कारोबारमा सुधार हुन सकेको छैन । आर्थिक कारोबार बढाउने घरजग्गा क्षेत्र तंग्रिन नसक्दा आर्थिक क्रियाकलाप समेत बढ्न सकेको छैन् । घरजग्गा कारोबार माघ र फागुन महिनामा उस्तै देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागकाअनुसार फागुन महिनामा ४६ हजार ६१ वटा लिखत पास भएको छ भने माघमा पनि देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा लिखत पास भएको थियो । गत वर्ष फागुनमा देशभर ५० हजार नौ सय ९८ संख्यामा घरजग्गा कारोबार भएको थियो । गत वर्षको तुलनामा यो वर्ष फागुनमा भएको कारोबार करिब १० प्रतिशत कम हो । पुस घरजग्गाका कारोबार बढ्दा उत्साहित भएपनि पछिल्लो दुई महिनाले फेरी निरास बनाएको हो । पुसमा देशभरका मालपोत कार्यालयहरूबाट ४८ हजार एक सय ५६ लिखत पास भएको थियो ।
बैक तथा वित्तीय संस्थामा ७ खर्बको निक्षेप हुँदा बैकहरूको ब्याजदर सस्तो भएपछि कर्जा लिएर घर जग्गा कारोबार गर्नेको संख्या बढ्न सकेको छैन । घरजग्गाका लगानीकर्ताहरू अझै पनि पर्ख र हेरकै अवस्था देखिँदा कारोबार बढ्न सकेको छैन । लिखत पास स्थिर हुँदा पनि राजस्व संकलन भने बढेको देखिएको छ ।
माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने फागुनमा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा कारोबारबाट २८ अर्ब ८३ करोड १ लाख ९१ हजार रुपैयाँ राजस्व उठेको छ । पछिल्ला दुई वर्ष यता देखि नै जग्गाको मूल्य बढ्न नसक्दा बिक्री गर्नहरूले जग्गा बिक्री गर्न चाहिरहेका छैनन् भने किन्नेले समेत घरजग्गामा अझै ढुक्कले लगानी गरिरहेका छैनन् । जसले गर्दा घरजग्गा कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।
विभागकाअनुसार फागुन महिनामा सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड, ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ । जसमध्ये, सो अवधिमा मालपोत कार्यालय कंलकीले २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख र मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको विभागले जनाएको छ ।