
काठमाडौँ : अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई विक्की कुमार महतो रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महतोलाई असोज २१ गते साँझ ५ बजे काठमाडौँ महानगरपालिका–११ मातातीर्थस्थित सडक खण्डबाट पक्राउ गरिएको हो ।
शंकास्पद अवस्थामा हिँडिरहेका महतोलाई नियन्त्रणमा लिएर उनको मोबाइल फोन जाँच गर्दा वानएक्सबेट र मोबक्यास एप्लिकेसनमार्फत अनलाइन जुवा तथा सट्टेबाजी गरेको भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, यूएसडीटी लगायतका अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा समेत उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको खुलेको छ ।
प्रहरीले महतोलाई मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिएर अभौतिक मुद्रा तथा सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।