२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

स्रोत नखुलेको रकम र भारतीय मोटरसाइकलसहित एक जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २२ गते २०:२७
Shares
स्रोत नखुलेको रकम र भारतीय मोटरसाइकलसहित एक जना पक्राउ

रौतहट : ​जिल्लाको सदरमुकाम गौरस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले स्रोत नखुलेको दुई लाख १६ हजारभन्दा बढी नगद रकम र भारतीय नम्बरको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

ncell

​सीमा क्षेत्रबाट अवैध रूपमा रकम ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको सीमा कारबाही टोली  र भन्सार सुरक्षा गार्ड गौरको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एआर २४९५ नम्बरको टिभिएस राइडर मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।

​नियमित चेकिङका क्रममा शंकास्पद अवस्थामा सवार गौर नगरपालिका वडा नं. १ का ४२ वर्षीय शेराज अलिलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

​जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अलिबाट नेपाली ५०० दरका २३३ थान नोट गरी जम्मा रु. १ लाख १६ हजार ५ सय र भारतीय ५०० दरका २०० थान नोट गरी जम्मा भारु. १ लाख फेला परेको हो । बरामद गरिएको कुल रकमको नेपाली मूल्यांकन गर्दा दुई लाख ७६ हजार ५ सय रुपैयाँ बराबर हुन आउँछ ।

​घटनाका सम्बन्धमा थप जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक  बसन्त गौतमले पक्राउ परेका अलिमाथि हुण्डी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

​सीमावर्ती क्षेत्रमा अवैधानिक वित्तीय कारोबार हुण्डी तथा राजस्व छली नियन्त्रणका लागि प्रहरीले निगरानी तीव्र पारेको र बरामद रकम मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर