अपराध मानव समाजको सधैंको कलंक हो । समाजलाई विकृत बनाउने, बिखण्डित गर्ने, अनुशासन, नीति, नियम र कानुनको बर्खिलाप हुने हरेक क्रियाकलाप अपराध हुन् । अपराधलाई काटमार, हत्या र हिंसाका रूपमा मात्र लिइनु उचित हुँदैन । तस्करी, भ्रष्टाचार, अनियमितता पनि अपराधभित्रै समेटिनु सान्दर्भिक हुन्छ । यस्ता कुकृत्यका कारण समग्र मानव समाज नै प्रभावित बनिरहेको छ । यो नेपालको मात्र नभई विश्वव्यापी समस्या हो । तथापि, हामीले हाम्रै सन्दर्भमा यसलाई गम्भीर रूपले हेर्नु जरुरी देखिएको छ ।
केही दिनअघि मात्र काठमाडौंबाट २५ करोड १९ लाखभन्दा बढी बराबरका अमेरिकी र युरो मुद्रा प्रहरीले बरामद गरेको छ । उक्त रकम हालसम्म नेपाल प्रहरीले बरामद गरेको सबैभन्दा ठूलो अवैध रकम भएको बताइएको छ । उक्त रकमको कनेक्सन सुन तस्करसँग रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । सँगसँगै सुन तस्करी पनि नेपालमा भयावह समस्याका रूपमा देखिँदै आएको छ । उसो त जनावरका अंगदेखि लागुऔषधसम्मका तस्करी पनि व्यापक हुने गरेका घटना प्रशस्त छन् । यी पनि अपराधकै रूप हुन् । व्यक्ति हत्याका घटना झनै जर्जर छन् । सामान्य लेनदेनदेखि लुटपाट अनि वैयक्तिक रिसइबीसम्मका कारण व्यक्ति हत्या बढ्दो देखिन्छ । विगतमा भएका यस्ता कतिपय घटनामा छानबिन भई निष्कर्ष आउन सकेको र दोषी पहिचान गरी कारबाही हुन सकेको अवस्था छैन । अर्को भयानक अपराध छ– बलात्कारको । नाबालिकादेखि वृद्धासम्म बलात्कारका सिकार भइरहेका तथ्यहरू छन् । यस्ता घटनामा बलात्कारपछि हत्यासम्म हुने गरेका छन् । निर्मला पन्त प्रकरण जस्ता अनेक प्रकरण आज पनि भइरहेका छन् तर छानबिन र कारबाहीमा सरकार चुकेको छ । हाम्रा संयन्त्रहरू निष्प्रभावी बनेका छन् ।
अपराध निमिट्यान्न हुन नसक्ला तर न्यूनीकरण अवश्य हुन सक्छ । समाजलाई शान्त, सुन्दर, अनुशासित र भयरहित बनाउन पहिलो शर्त नै अपराधबाट मुक्त गराउनु हो । अपराधका कारण, कारक र संलग्न व्यक्तिहरू तत्काल पहिचान गर्ने र कारबाही गर्ने प्रभावकारी संयन्त्रको खाँचो एकातिर छ भने सँगसँगै अपराधका प्रकार, प्रकृति र स्वभावबारे सचेतनासहति त्यसबाट जोगिने उपायबारे आमजनलाई प्रशिक्षित गर्न तीनै तहका सरकार, सुरक्षा निकाय र नागरिक समाजको सक्रियता अत्यावश्यक छ । अपराधविहीन समाजको परिकल्पनासहित राज्यले विशेष कार्यक्रमका प्याकेज सार्वजनिक गरी कार्यान्वयन गरोस् ।