काठमाडौंः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायातसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर आज स्वदेश फर्किएका छन् ।
अमेरिकाको वासिङ्टन डिसीमा मार्च १० देखि विश्व बैंकको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन गत फागुन २४ गते उनी नेतृत्वको टोली त्यसतर्फ गएको थियो ।
मन्त्री दाहाल विश्व बैंकको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिष्टरियल राउन्ड टेबल’ को उद्घाटन सत्रमा समेत सहभागी भएका थिए । कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय क्षेत्रको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रस्ट पारेका थिए ।
सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको न्यूनतम लागत कायम गर्न र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहबारे धारणा राखेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भए भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि सम्बोधन गरेको जनाइएको छ ।