
काठमाडौं : ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालको राष्ट्रिय हितको रक्षा गर्दै दिल्ली, वासिङ्टन डीसी र बेइजिङसँग प्रभावकारी रूपमा संवाद र डिल गर्न पहिले आन्तरिक राजनीतिक तथा संस्थागत समझदारी आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ यही स्टाटसलाई संकेत गर्दै पन्तले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले जंगी अड्डा, नक्साल मुख्यालय, रवि लामिछाने, बालेन शाह र गगन थापाबीच राष्ट्रिय हितका विषयमा साझा समझदारी र समन्वय कायम हुनुपर्ने धारणा राखेका छन् । आन्तरिक रूपमा आवश्यक ट्युनिङ मिल्न सके मात्र बाह्य शक्तिकेन्द्रहरूसँग नेपालको हितअनुकूल प्रभावकारी कूटनीतिक संवाद र वार्ता गर्न सकिने उनको भनाइ छ ।
पन्तका अनुसार अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनको खेल चलिरहेका बेला नेपालले आफ्नै आन्तरिक शक्ति र संस्थाहरूबीच अविश्वास तथा असमझदारी बढ्न दिनु हुँदैन ।
उनले भनेका छन्, “सतरञ्जको खेलमा चेकमेट आफ्नै पक्षलाई होइन, बाह्य शक्तिकेन्द्रलाई दिन सक्नुपर्छ ।”
उनको भनाइमा नेपालको आन्तरिक शक्ति र नेतृत्व अहिले चारैतिर फर्किएको अवस्थामा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नु झन् आवश्यक भएको छ । यही सन्दर्भमा उनले सबै राजनीतिक शक्ति, सुरक्षा निकाय, संस्थागत नेतृत्व र सरोकारवालाबीच संवाद तथा सहकार्यको आवश्यकता औंल्याउँदै ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानको महत्त्व पुनः स्मरण गराएका छन् ।
पन्तले राष्ट्रिय स्वार्थ, सार्वभौमिकता र दीर्घकालीन समृद्धिका लागि आन्तरिक एकता नै नेपालको प्रभावकारी अन्तर्राष्ट्रिय कूटनीतिको आधार हुनुपर्ने बताएका छन् ।