काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चालू आर्थिक वर्षको समाप्तिअघि नै संख्या सय समस्याको स्थायी समाधान हुने बताएको छ ।
मध्यान्ह राष्ट्रिय दैनिकले बिहीबारको अंकमा गत १८ माघमा प्रारम्भ भएको संघीय संसद्को हिउँदे अधिवेशन बढीमा चैतको तेस्रो हप्तासम्म मात्र चल्ने हुँदा संख्या सयको प्रावधान खारेज गर्न पेस भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई कानुनको रूपमा आउन समयको चापले समस्या रहेको समाचार सार्वजनिक गरेको थियो ।
उक्त समाचारप्रति आफ्नो धारणा राख्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विधेयक संसद्मा टेबुल गराउन तथा त्यसलाई पारित गराएर व्यवसायीलाई सहज बनाउन सबै पहल गरिएको बताए ।उनले भने, ‘वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरणका लागि समस्याको रूपमा रहेको बाध्यात्मक संख्या सय खारेजीको प्रावधान समेटिएको विधेयक आमव्यवसायीको मागअनुसार नै पारित गराउन मुख्यमुख्य राजनीतिक दलका प्रमुख सचेतक, सम्बन्धित संसदीय समिति र वैदेशिक रोजगार क्षेत्रमा दख्खल राख्ने सबै सांसदहरूलाई पनि विषयवस्तु जानकारी गराएका छौं । उहाँहरूबाट सकारात्मक जबाफ पाएका छौं । चालू आर्थिक वर्ष सकिनु अगाडि नै निकास आउँछ ।’
नेपाल सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ मार्फत १९ फागुन २०७५ मा वैदेशिक रोजगार व्यवसायीले इजाजतपत्र नवीकरण गर्दा वार्षिक सय जना कामदार पठाएको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको हो । तर, उक्त कानुनी प्रावधान हालसम्म १ पटक पनि कार्यान्वयनमा आएको छैन ।
सरकारले व्यवसायीको मागअनुसार नै उक्त कानुनी व्यवस्था अव्यावहारिक भन्दै खारेज गर्ने निर्णय गरेर ३० असार २०८० मा प्रतिनिधिसभामा विधेयक प्रस्तुत भएको हो । उक्त विधेयकमा वन तथा राष्ट्रिय वन्यजन्तुसम्बन्धी संशोधनका विषयमा राष्ट्रिय सहमति नबन्दा संसद्मा निर्णयार्थ पेस हुन पाएको छैन ।
८० भन्दा बढी ऐनका विभिन्न दफा संशोधन गराउने व्यवस्था गरिएको उक्त विधेयक पारित नहुँदा वैदेशिक रोजगार व्यवसायी सबैभन्दा बढी पीडित बनेका छन् । उक्त कानुनी व्यवस्थाका कारण सय जना कामदार उडाउन नसकेका वैदेशिक रोजगार व्यवसायी चैत–वैशाख महिना सुरु भएपछि नै लाइसेन्स के हुने हो भनेर त्रासमा रहने गरेका छन् ।
संघका अध्यक्ष भण्डारीले विगतको पीडा सम्झेर व्यवसायी त्रसित भएका भन्दै सरकार नै वैदेशिक रोजगार ऐनबाट सय संख्याको कानुनी प्रबन्ध खारेज गर्न सैद्धान्तिक रूपमा सहमत भई व्यावहारिक रूपमा पनि विधेयकमार्फत अघि बढेकाले व्यवसायीले चाहेअनुसारको निकास आउने बताए । उनले भने, ‘यस विषयमा संघका तर्फबाट छलफल, भेटघाट र लबिङ पर्याप्त मात्रामा गरिएको छ ।’
केही व्यवसायीहरू भने संघको वर्तमान नेतृत्वले संख्या सयको समाधान गर्ने हो कि भनेर छटपटाइरहेका छन् । आफू नेतृत्वमा रहँदा अनेक हर्कत गर्ने त्यस्ता व्यवसायीको सानो झुण्ड संघको वर्तमान नेतृत्वलाई असफल बनाउन नेताहरूको ढोका चहारेर चुक्ली लगाउन हात धोएर लागेको पाइन्छ ।
त्यस्ता नेतागिरीहरूले केही ठूला म्यानपावरको इसारामा संख्या सयको समाधान हुन लागेको विषयलाई ऐनको आर्को दफासँग जोडेर उचालिरहेका छन् ।