
काठमाडौं : बंगलादेश र जापानले जापानमा बंगलादेशी कामदार भर्नाका लागि बाटो खोल्ने नयाँ रोजगार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
जापानमा चुलिँदो श्रमिक संकट समाधान गर्न जापान र बंगलादेशबीच सन् २०२७ अप्रिलदेखि कामदार भित्र्याउने गरी १० बर्से श्रम सम्झौता भएको हो । बंगलादेशका तर्फबाट प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालयका सचिव र जापानको न्याय मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय र राष्ट्रिय प्रहरी निकायका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यसका लागि लगभग एक वर्ष प्रयास गरिएको बंगलादेशका अधिकारीहरूले बताएका छन् । जापानसँगको सम्झौतालाई बंगलादेशमा वैदेशिक रोजगारीका अवसर विस्तारमा महत्वपूर्ण कोशेढुंगा मानिएको छ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको आगामी जापान भ्रमणका क्रममा दुवै पक्षले सम्झौताका प्रतिलिपि औपचारिक रूपमा आदानप्रदान गर्नेछन् ।
सम्झौताअन्तर्गत १ अप्रिल २०२७ देखि कामदार भर्ना सुरु हुनेछ । यो सुरुमा पाँच वर्षका लागि लागू हुने र म्याद सकिएपछि स्वतः अर्को पाँच वर्षका लागि विस्तार भई यसको अवधि १० वर्ष पुग्ने बताइएको छ । बंगलादेशी कामदारहरूले जापानी कामदारलाई प्रदान गरिएसरह कानुनी सुरक्षा प्राप्त गर्ने बताइएको छ ।
दुई देशबीच भएको यो रणनीतिक साझेदारीअनुसार जापानले आफ्नो अर्थतन्त्र धान्न सन् २०२८ सम्ममा १२ लाख ३१ हजारभन्दा बढी विदेशी श्रमिक भित्र्याउने बृहत् लक्ष्य पूरा हुने बताएको छ । जापानले नेपाल, बंगलादेश र भियतनामजस्ता धेरै देशबाट श्रमिक आपूर्ति गरिरहेको छ ।
नेपाली कामदारहरूले जापानी रोजगारदातामाझ लामो समयदेखि बलियो विश्वास र छुट्टै पहिचान बनाइसकेका छन् । नेपालले ‘स्पेसिफाइड स्किल्ड वर्कर’ र नयाँ ‘इकुसेई स्युरो’ प्रणालीअन्तर्गत आफ्नै संयन्त्र र कोटामार्फत कामदार पठाइरहेकाले बंगलादेशी श्रमिकको आगमनले नेपालले पाइरहेको रोजगारीको अवसर र कोटामा सुरुवातमै कटौती हुने छैन । तर, भविष्यमा नेपाली र बंगलादेशी कामदार मलेसियामा जस्तै एकअर्काका प्रतिस्पर्धी देखिन सक्ने विश्लेषण गरिएको छ ।