
क्वालालम्पुर, मलेसिया : मलेसियामा ग्लोभ्स उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी टप ग्लोभ्सले नेपाली श्रमिक भर्नामा अवरोध भएपछि बंगलादेशबाट शून्य लागतमा केही कामदार भर्ना गर्ने तयारी गरेको छ ।
कम्पनीमा कार्यरत नेपालीसहितका श्रमिकको करार अवधि सकिएपछि करिब २ हजार नयाँ श्रमिक भर्ना गर्नुपर्ने बाध्यतामा पुगेको टप ग्लोभ्सले शून्य लागतमा बंगलादेशी श्रमिक भित्र्याउन पहल गरेको कम्पनीसम्बद्ध स्रोतले बताएको छ ।
अमेरिकी र युरोपेली बजारमा उत्पादन निर्यात गर्ने टप ग्लोभ्सलाई शून्य लागतमा कामदार भर्ना गर्नुपर्ने बाध्यता छ । तर, बंगलादेशबाट शून्य लागतमा कामदार लैजाने अभ्यास छैन । टप ग्लोभ्सले बंगलादेशबाट श्रमिक ल्याउने पहिलो चरणलाई परीक्षणका रूपमा सुरु गरेको र सफलता प्राप्त भए बंगलादेशबाट थप श्रमिक लैजाने बताइएको छ । हजारौं नेपाली कामदारहरुको रोजाईको कम्पनीमा पर्ने उक्त कम्पनीमा हाल पनि ५ हजार बढी नेपाली कार्यरत रहेका छन् । उनीहरू शून्य लागतमा गएका हुन् ।
नेपाल र मलेसियाबीच देखा परेको रोजगार गतिरोधले शून्य लागतमा मात्र कामदार लैजाने अनेय बहुराष्ट्रिय कम्पनीहरूले समेत क्रमशः नेपाली कामदारको विकल्प खोज्न थालेकाले यो समस्या अविलम्ब हल गरेर इच्छुक सबै व्यवसायीले मलेसियामा काम गर्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने देखिएको छ ।