सिंगो विश्व कोभिड महामारी विरुद्ध लडिरहेको छ । नेपालको उत्तरी छिमेक चीनको वुहान शहरबाट फैलिएको कोभिड संक्रमणबाट विश्वभर एघार लाख बढीको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट आठ सयको मृत्यु भएको छ भने झण्डै डेढ लाख मानिस संक्रमित भइसकेका छन् । तर पनि संक्रमण दर घटेको छैन । काठमाडौ उपत्यका संक्रमणबाट सवैभन्दा बढी प्रभावित बनेको छ । काठमाडौं जिल्लामा मात्रै कोभिड संक्रमित ५० हजार नाघिसकेको छ ।
लामो समयको लकडाउन र निषेधाज्ञा जारी गरेपनि कोभिड नियन्त्रणमा आउन सकेन । यसपछि असोज देखि सरकारले मुलतः आर्थिक गतिविधि खुला भएको छ । अझ शैक्षिक लगायत केही क्षेत्र खुल्न सकेको छैन । विद्यार्थीले एक शैक्षिक सत्र लगभग गुमाइसकेको छ । तर जीवनसँगै जिविका चलाउनुपर्ने बाध्यताका कारणले मात्रै सरकारले निषेधाज्ञा र लकडाउन नगरेको बुझ्न गाह्रो पर्दैन । यसको अर्थ हामी महामारीको जोखिमबाट मुक्त भएका छैनौं । बरु, उच्च जोखिममा छौ । यस्तो बेला संक्रमणबाट आफू जोगिने र अरुलाई जोगाउने दायित्व हरेक नागरिकको हो ।
तर, जीवनसँगै जिविका चलाउने नीतिले लकडाउन र निषेधाज्ञाबाट खुला भएको अवस्थामा सवैको ध्यान चाडपर्व मनाउनेतिर समेत तानिएको छ । नेपालीहरुले ठूलो उत्साहका साथ मनाउने चाड दशै हामी सवैको आँगनमा आएको छ । दशैं आफैमा पनि जमघट हुने संस्कृति हो । आफन्तकोमा जाने र ठूलाबडाको हातबाट आशिर्वाद लिने पर्व दशैंले यसपटक भने भौतिक दूरी कायम गर्नुपर्ने नियती झेल्दैछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमणको उच्च खतरा रहेको भनिएका बृद्ध अवस्थाका परिवारको सदस्यका हातबाट दशैं टीका थाप्नुपर्ने हुन्छ । अर्थात् यसपटकको दशैं टीकाले संक्रमणको भय बढाएको छ ।
तसर्थ, यसपटकको दशैं बडो सतर्कताका साथ मनाउनु नै उचित हुनेछ । अहिलेसम्म कोरोना खोप पत्ता लाग्न नसकेपनि अर्को वर्षसम्म संक्रमणको जोखिम घटेर जान सक्छ । त्यसैले यसपटकको दशैंमा सकेसम्म जमघट नगर्नु नै राम्रो हुनेछ । दशैं मनाउनुलाई फेरि अर्को वर्ष पनि आउँछ । यसपटक भने संक्रमणबाट जोगिनलाई सतर्कतापूर्वक दशैं मनाऔं । विजया दशमी २०७७ को शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies