बुटवल : प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइनतर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभी तर्फबाट आशिष गुप्ता रहेका छन् ।
सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा ३ जना मनोनित भएका छन् । सल्लाहकारमा डा.बालकृष्ण चापागाई, शुक्रऋषी चौलागाईं र देवी वाग्ले मनोनित भएका छन् । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले शुक्रबार दोस्रो मिडिया सम्मेलन गरेको थियो । संघले विभिन्न सञ्चारमाध्यम र सञ्चार सरोकारवालासँग सञ्चार क्षेत्रको संकट र सञ्चारकर्मी पलायनका सन्दर्भमा प्यानल डिस्कसन समेत गरेको थियो ।