बिराटनगर : प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन आइतबारबाट विराटनगरमा सुरु हुँदै छ । ३ दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने छन् ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका महाधिवेशन हुन लागेको हो । झण्डै ९ सय प्रतिनिधिले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नेछन् ।
अधिवेशनका लागि संगठनका पदाधिकारी, केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर पुग्ने क्रम जारी छ । महाअधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाका बारेमा महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए ।
संगठनको भावी अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन । वर्तमान उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भइरहेको छ । सदस्यहरूले उम्मेदवारी घोषणा गरेपनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास हुने प्रेस चौतारीका नेताहरूले बताएका छन् ।
अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता बनाउन नसकिने बताएका छन् । ‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भनेका छन् ।