म्याग्दी : जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ जौँ, आलुलगायत खाद्य बाली र सागसब्जी खेतीसँगै फलफूल खेती प्रभावित बनेको थियो ।
हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेती बाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगंगा गाउँपालिका-३ का नरबहादुर भण्डारीले बताए । उनका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ ।
यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । जिल्लाको गुर्जा, कुइनेमंगले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि हिमपात हुन थालेको छ । हिउँद याम सुक्खा हुँदा खेती बालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताए ।
जिल्लाको पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायत पर्यटकीय स्थलमा हिमपात भएको छ । हिउँमा रमाउन उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् ।