विराटनगर : नेकपा (एमाले) प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरु भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको महाअधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् ।
उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ ।
महाअधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका छन् । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
महाधिवेशन सुरु हुनुअघि नै चौतारीको अध्यक्षसहितका आकांक्षीहरू मैदानमा देखिन थालेका छन् । चौतारीको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दावेदारी पेस गर्ने तयारी गरेका छन् ।
यसैबीच प्रेस चौतारी नेपालले नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।
नेपाली साहित्यका अग्रज साहित्यकार तथा कवि हृदयचन्द्र सिंह प्रधानको स्मृतिका स्थापित यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले,बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ,गोपाल बुढाथोकी,तीर्थ कोइराला,अखण्ड भण्डारीलगायत पुरस्कृत भइसकेका छन् ।
यस्तै, हेमन्त पौडेललाई अग्निशिखा स्मृति, शान्ति गुरुङलाई डा. शान्ति पाण्डे प्रेस चौतारी महिला पत्रकारिता, लालबाबु शेख र रिमा सोमैलाई वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी, टपेन्द्र कार्की र मालती केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता, उषा तामाङ र रोशनी कठेतलाई सावित्रीदेवी–पद्यलक्ष्मी बस्नेत स्मृति र गार्डेन राई र हरिश चन्द्रलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।