मकवानपुर : मकवानपुर थाहा नगरपालिका २ र ७ को सीमानामा रहेको अस्पताल डाँडामालाई ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न अन्तरक्रिया गरिएको छ ।
शनिबार पालुङ जेसीजको आयोजनामा ‘अस्पताल डाँडा पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
पालुङ जेसीज वर्ष २०२५ का अध्यक्ष माधव कार्कीको अध्यक्षता एवं थाहा नगरपालिका २ का अध्यक्ष बमबहादुर सिन्तानको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरिएको हो ।
प्रमुख अतिथि सिन्तानले अस्पताल डाँडा थाहा नगरपालिकाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । उनले थाहा नगरपालिका पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान भएकोले यस क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा पालुङ जेसीज वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले किंवदन्तीमा उल्लेख भए अनुसार रामायणकालमा हनुमानले सञ्जीवनी बुटीको पहाड बोकेर ल्याउँदा त्यसको केही भाग यस स्थानमा झरेको र यहाँ जडिबुटीहरु प्रशस्त पाइने भएको कारणले यो डाँडाको नाम अस्पताल डाँडा रहन गएको बताए ।
उनले अस्पताल डाँडामा हनुमानको ठूलो मूर्ति बनाएर प्रचार–प्रसार गर्न सके ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा हिमचुली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङ, वडा नं २ का वडा सदस्यहरु अर्जुन कार्की, सुनिता वि.क, नेकपा (माओवादी केन्द्र)का वडा नं.२ कमिटी अध्यक्ष बिक्रम तामाङ, पालुङ जेसीज वर्ष २०२५ का उपाध्यक्ष विकेश बाबु बस्नेत, कार्यक्रम संयोजक सन्जिता बस्नेत, सह–कोषाध्यक्ष नविना बिष्ट, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका महासचिव सैलेन्द्र केसी लगायत स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
थाहा नगरपालिका २ र ७ को सीमानामा रहेको यो डाँडाबाट ७ नम्बरको विभिन्न स्थानहरूका साथै थाहा नगरपालिका पालुङ्ग क्षेत्रको धेरै भूभागहरू देख्न सकिन्छ । यहाँबाट काठमाडौंको धरहरा पनि देख्न सकिन्छ । साथै विभिन्न जडिबुटी अध्ययन गर्न समेत अस्पताल डाँडा पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने कार्यक्रममा सहभागीहरुले बताए ।