२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

मधेश प्रदेश समन्वय परिषद् कतारको बृहत् इफ्तार कार्यक्रम सम्पन्न

draupadi film
तिलु शर्मा पौडेल
२०८१ चैत १० गते २२:४८
मधेश प्रदेश समन्वय परिषद् कतारको बृहत् इफ्तार कार्यक्रम सम्पन्न

दोहा कतार : मधेश प्रदेश समन्वय परिषद् कतारले आयोजना गरेको दावत ए इफ्तारी कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसर पारेर रोजा बसेका रोजेदार मुस्लिम धर्मालम्बीहरुका लागि मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको हलमा शुभकामना आदान–प्रदानसहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो । 

आइतबार सम्पन्न कार्यक्रमको उद्घाटन कुरान तिलावात (मौलाना जनाव) बाट गरिएको थियो । परिषद्का अध्यक्ष मोहमद नियाज शेखको सभाध्यक्षता तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यतामा इफ्तार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष राज रेग्मी, एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टसहित वैचारिक संगठन, प्रदेश, सामुदायिक र जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधिहरुको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो । 

रमजानको महत्वका बारेमा गुरु तथा वक्ताहरूले झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीन दुःखीलाई दान र दया गर्नु  रमजानको विशेषता रहेको बताएका थिए । रमजान महिना गरिब, दिन दुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेको धारणा राखेका थिए । 

वक्ताहरूले नेपाली दूतावासले पनी इस्लामिक आस्थावानहरुको सम्मानमा इफ्तार कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याउँदै नजिकिँदै गरेको इद उल फित्रको शुभकामना दिएका थिए । 

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले दूतावासले कुनै पर्व नमनाउने तर हल उपलब्ध गराउने गरेको स्मरण गराएका थिए । उनले समाजले आग्रह गरेको खण्डमा इफ्तार कार्यक्रमका लागि हल उपलब्ध गराउनेतर्फ छलफल गर्न सकिने स्पष्ट पार्दै शुभकामना ज्ञापन गरेका थिए । 

कार्यक्रममा उपस्थितलाई उपाध्यक्ष कलाम हुसेन खानले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । महासचिव तेजीलाल मण्डलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शेखले इफ्तार कार्यक्रममा जोडिनेहरूप्रति आभार व्यक्त गरेका थिए । 

इस्लाम धर्मावलम्बीहरूले यस महिनालाई धार्मिक ग्रन्थ कुरआन अवतरण भएको सबैभन्दा पवित्र महिनाको रूपमा मान्ने गरिन्छ । रोजाका पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने गरी  रोजा बस्ने गर्दछन् ।
 

ADV

सम्बन्धित खबर

Advertise