दाङ: दाङका गेहेन्द्र बहादुर बस्नेत र जितेन्द्र बस्नेतलाई उद्योगी बन्न दुई दशक लाग्यो ।
उनीहरुले घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरामा सांग्रिला प्लाइ तथा भेनियर उद्योग सञ्चालन गरेका थिए । करिब ७ बिगहा जग्गामा उद्योग सञ्चालन गरेर एउटा उद्योगीको पहिचान बनाउँदै थिए । यही पहिचान बनाउन दशकौ लागेका बस्नेत दाजुभाईको उद्योग ध्वस्त हुन क्षणभर पनि लागेन । करोडौँको लगानी खरानी भयो, सयांैको रोजगारी खोसियो ।
आइतबार राति १ बजेतिर विद्युत् सर्ट भएर उद्योगमा आगोलागी भयो । त्यहाँ काठ र कच्चा पदार्थहरू ठूलो मात्रामा स्टक गरेर राखेकाले आगो नियन्त्रण गर्न समस्या भयो । उद्योगमा लागेको आगो नियन्त्रणका लागि पाँच सय बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीय समेत परिचालन भए । उद्योग नजिकैका ३० बढी घर जोखिमको अवस्थामा पुगे । घोराही, तुल्सीपुर, लमही, तीनवटा दम्कल आगो निभाउन नसकेपछि बाँके, बर्दिया कपिलवस्तु जिल्लाका गरेर आठवटा दम्कल प्रयोग गरिएको थियो ।
तर १९ घण्टासम्म आगलागी नियन्त्रण गर्न नसकेपछि हेर्दाहेर्दै उद्योग जलेर ध्वस्त भयो, अनि खरानीमा परिणत भयो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले विद्युत् सर्ट भएर आगोलागी भएको बताए । उद्योगमा आगलागी भएको तत्कालै खबर पाएपनि नियन्त्रण गर्न नसकिएको उनले बताए । ‘उद्योगको संरचना निकै ठूलो भएका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भयो,’ प्रहरी नायब उपरीक्षक शाहले भने,‘उद्योगको क्षति कम गर्नकै लागि आठ बढी दमकल र ५ सय बढी सुरक्षाकर्मी, नेपाली सेना परिचालन गरिएको थियो ।’
आगलागीबाट उद्योग जोगाउन नसकेपनि बस्ती भने जोगाएको थियो । मानवीय क्षति भने नभएको उनले बताए ।
दुई दशकदेखिको मेहनत खरानीमा परिणत भएपछि उद्योग सञ्चालक बस्नेत पीडामा छन् । आँखा अगाडि करोडौंको लगानी खरानीमा परिणत भएपछि उद्योग सञ्चालक बस्नेतले भने,‘दुई दशकको मेहनत एकैछिनमा खरानी भयो । आगलागीको कारण उद्योगमा भएका सबै सामग्री ध्वस्त भइसकेको छ । आगलागीको भयावह अवस्था थियो । उद्योगमा हुनुपर्ने सामग्री सबै ध्वस्त भयो ।’
आगलागीबाट प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाइ बनाउने मेसिन लगायतका सामग्री जलेर नष्ट भएको उनले बताए ।
उद्योगमा लागेको आगो दिनभर पनि नियन्त्रणमा नआएर उद्योग नै सखाप भएपछि विभिन्न संघसंस्थाहरूले दुःख व्यक्त गरेका छन् । उद्योगमा भएको आगलागीप्रति दुःख प्रकट गर्दै उचित क्षतिपूर्ति व्यवस्थाको माग गरेका छन् ।