२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

विकासमा बेथिति : ३६ महिनामा १३ प्रतिशत भौतिक प्रगति

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते ०७:१५
विकासमा बेथिति : ३६ महिनामा १३ प्रतिशत भौतिक प्रगति

पूर्ण सार्की
डोल्पा : हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैदेखि ल्यासीक्यापसम्म पर्ने सडक खण्डको २५ किलोमिटर सडक भेरी करिडोरले २०७८ सालमा कुल २८ करोड बराबरको रकममा ठेक्का लगाएको थियो । भेरी करिडोरअन्तर्गत पर्ने यो सडक खण्डको २०७८ चैतमा सूर्य–श्रेया शान्तिदेवी जे. भी.ले भ्याटसहित १३ करोड ४० लाखमा सम्झौता गरेर निर्माणको जिम्मा लिएको थियो ।

सम्झौताको ४५ महिनामा सम्पन्न गर्नेगरी जिम्मा लिएको सूर्य–श्रेया शान्तिदेवी जे. भी.ले ३६ महिना बितिसक्दा भौतिक प्रगति १३ प्रतिशत मात्र गरेपछि सोमबार उक्त सडक खण्डको जिल्लास्थित सर्वदलीय सर्वपक्षीय टोलीले स्थलगत अनुगमन गरेको थियो ।
काइके गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाले दिएको जानकारीअनुसार निर्माण कम्पनीलाई विभिन्न मितिमा निर्माण कार्य अघि बढाउन ताकेता गरिए पनि वास्ता नगरी काम नगरेको र नागरिकले निर्माण व्यवसायीले कामको जिम्मा लिएदेखि झनै दुःख पाइरहेका बताए ।

निर्माण कम्पनीले समयमा काम नगरी अलपत्र बनाएपछि त्यहाँका नागरिकले आक्रोश पोखिरहेकाले सर्वदलीय सर्वपक्षीय अनुगमन गराउन बाध्य भएको अध्यक्ष रानाले सुनाए । 

निर्माण व्यवसायीले अब काम गर्न पाउने समय ९ महिना मात्र रहेको र यो समयमा काम नहुने भन्दै स्थानीयहरूले सम्झौता रद्द गर्नसमेत दबाब दिइरहेका छन् । स्थलगत अनुगमन गर्दा धेरैको प्रश्न एकै थियो कि भेरी करिडोरको लापरबाहीका कारण  निर्माण व्यवसायीले सडक अलपत्र पारेको हो ।

हालसम्म भएको १३ प्रतिशत कामको अवस्था हेर्दा भेरी करिडोरले दक्ष जनशक्ति निर्माण स्थलमा नराखेको र प्राविधिक हिसाबले काम नगरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । प्रजिअ महतले भने, ‘निर्माण व्यवसायीले सडक निर्माणका लागि कुनै पनि उपकरण र कामदार नराखेकाले गम्भीर लापरबाही छ । अब छोटो समयमा काम धेरै प्रतिशत हुन्छ भन्ने कुनै आधार देखिँदैन ।’ 

भेरी करिडोरको कार्यालय जाजरकोटमा राखेर डोल्पाको क्षेत्र हेर्ने र दक्ष प्राविधिकहरू निर्माण स्थलमा नबस्ने गरेकाले नै सडकको भौतिक प्रगति न्यून रहेको प्रजिअ महतको दाबी छ ।

जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले भने भेरी करिडोरले डोल्पामै कार्यालय स्थापना गरी काम गरे मात्र सडकको भौतिक प्रगति देखिने दाबी गरेका छन् ।

सामान्य जाली भर्ने र डोजर लगाएर खन्नेसम्मको कामसमेत नगरेकाले कार्यालय र निर्माण व्यवसायीको गम्भीर लापरबाही भएको राजनीतिक दलका नेताहरूको बुझाइ छ ।

सडक निर्माणको जिम्मा लिएको कम्पनीले अलपत्र अवस्था बनाउँदा त्यहाँका स्थानीयले ठूलो आक्रोश पोखेका छन् । अहिले त्यहाँका नागरिकले हरेक दिन दैनिक उपभोग्य सामग्री  सदरमुकामदेखि आफैं बोकेर या भरिया र खच्चडमा ढुवानी गरेर खान बाध्य छन् ।  
‘पहिला सहज थ्यो, अहिले त झनै दुःख पाएका छौं, सडक कहिले निर्माण हुन्छ ?’, स्थानीय राजकुमार रोकायले भेरी करिडोर र निर्माण व्यवसायीसँग आक्रोश पोखे ।

सूर्य–श्रेया शान्तिदेवी जे. भी.का प्रतिनिधि भीमबहादुर बोहोराले भने आफूहरूले काम गरिरहेका तर पछिल्लो समय विभिन्न कारण काम नभएर केही कमजोरी भएको स्वीकार गरे । बोहोराले भने, ‘यो सडक खण्डमा कडा चट्टान भएकाले पनि कामको भौतिक प्रगति नदेखिएको हो । निर्माणको क्रममा आवश्यक विस्फोटक पदार्थ खरिदका लागि समस्या भएसँगै सडक निर्माणमा ढिलाइ भएको हो ।’ 

ठूलाठूला चट्टान भएकाले डोजरले काम गर्ने अवस्था नहुँदा सबैले विस्फोटक पदार्थका लागि पहल गरे काम समयमै सम्पन्न हुने बोहोराले बताए ।   

यता, भेरी करिडोरले भने निर्माण व्यवसायीले सामान्य डोजरले खन्न सक्ने ठाउँ र चट्टानमा ब्रेकरको प्रयोग नगरेकाले काममा समस्या आएको जनाएको छ ।

जिल्लाको सर्वदलीय सर्वपक्षीय अनुगमनले दुनै–ल्यासीक्याप सडक अलपत्र रहेको र निर्माण व्यावसायी र भेरी करिडोरले लापरबाही गरी निर्माण कार्यको भौतिक प्रगति न्यून भएको निष्कर्ष निकालेको अनुगमन टोलीका संयोजक जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायाले जानकारी दिए । 

अब बाँकी ९ महिनामा काम हुने कुरामा विश्वस्त नरहेको र सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि जिल्लाको सर्वदलीय सर्वपक्षीय अनुगमन टोलीले निर्णयसमेत गरेकाले सोहीअनुसार जिल्लाले खबरदारी गरेको समन्वय प्रमुख रोकायाले बताए । 
यो सडक खण्डले समयमै गति लिने हो भने माथिल्लो डोल्पाका छार्काताङ्सोङ गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाका अधिकांश भूभाग सहजै सडक संजालसँग जोडिने देखिन्छ । निर्माण कम्पनीले यसरी निर्माण कार्य अलपत्र पार्दा माथिल्लो डोल्पाका नागरिकले दैनिक सास्ती खेप्दै आइरहेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise