काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।
२०५१ सालमा नेपाल विद्युत् प्राधिकरणको सातौं तहबाट सेवा सुरु गरेका घिसिङलाई तत्कालीन सरकारले २९ भदौ २०७३ मा पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले ३१ वैशाखमा नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेका थिए ।
प्राधिकरणको कार्यकारी निर्देशकमा २०७७ भदौमा पहिलो कार्यकाल सकेका घिसिङलाई लोकप्रियता र जनदबाबकै आधारमा तत्कालीन सरकारले फेरि २६ साउन २०७८ मा प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्ति गरेको थियो ।
राजनीतिक समीकरण बदलिएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेलगत्तै निरन्तर स्पष्टीकरण बुझाउँदै आएका कुलमानलाई सरकारले अन्ततः जिम्मेबारीबाट हटाएको हो ।
घिसिङलाई जिम्मेबारीबाट हटाइएलगत्तै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । शाक्यलाई नै हटाएर तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त गरेको थियो ।