२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

ट्राभल सेमिनार तथा मिडिया अन्तरसंवाद कार्यक्रम सम्पन्न

draupadi film
कुलेन्द्र शाही
२०८१ चैत १३ गते १६:०१
ट्राभल सेमिनार तथा मिडिया अन्तरसंवाद कार्यक्रम सम्पन्न

सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिकामा ट्राभल सेमिनार, फिल्ड अवलोकन तथा मिडिया अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जलवायुमैत्री कृषि प्रविधि र अभ्यासहरू अवलोकन गर्दै नरहरिनाथ गाउँपालिका र शिवालय गाउँपालिकाका कृषक र जनप्रतिनिधिहरूबीच जलवायु उत्थानशील पालिकासम्बन्धी सिकाई आदानप्रदान गर्ने उद्देश्यले शिवालय गाउँपालिका वडा नम्बर १ स्यापी र २ को नेपामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि महाशाखाका प्रमुख धनबहादुर कठायत, जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख नारायण सापकोटा, नरहरिनाथ गाँउपालिकाका उपाध्यक्ष कमल कुमार शाह, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाही, नरहरिनाथ गाउँपालिका डिआरआरका फोकल पर्सन राजेन्द्र शाही, सहास नेपाल केन्द्रीय कार्यालयका टंक गौतम, नरहरिनाथ गाउँपालिका कालिकोट र शिवालय गाउँपालिका जाजरकोटका कृषक समूह, किशोरी संवाद लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषकहरूले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको भन्दै दुःखेसो पोखे । कृषकहरूले नेपालमा उत्पादित तरकारीको मूल्य भारतबाट आएका तरकारीको तुलनामा महँगो हुँदा बजारमा आफ्नो उत्पादन बिक्री गर्न गाह्रो भइरहेको बताए ।

शिवालय–२ नेपाका किसान बलबहादुर घर्तीले आफूलाई यहाँको स्थानीय तरकारी बजारमा लगेर बेच्न निकै गाह्रो हुने गरेको गुनासो गरे । ‘हामीले महँगो तरकारी बेचेको बेला व्यापारीहरू भारतको सस्तो तरकारी रोज्छन्, उनले भने, ‘जसले गर्दा हामीलाई समस्या भएको छ । यदि भारतबाट आयात हुने तरकारीमा रोक लगाइयो भने, हाम्रो उत्पादनको मूल्य बढ्ने र आम्दानी राम्रो हुने छ ।’

यस्तै शिवालय–२ कै किसान नैनसरा घर्तीले पनि उस्तै गुनासो गरिन् । उनले पनि आफूहरूले तरकारी उत्पादन गर्ने गरेको भए पनि बजारीकरणमा निकै समस्या भएको बताइन् । उनले भनिन्, ‘हामीले प्याज, टमाटर, आलु, बन्दा, केराउ जस्ता तरकारी उत्पादन गर्छौं, तर बजारीकरणमा समस्या आउँछ । कहिलेकाहीं हामी आफै तरकारी बोकेर बजार जान्छौं, तर बिक्री गर्न नसकेर निराश भएर फर्किन्छौं ।’ नेपाली उत्पादन लागत नै महँगो हुने भएकाले महँगो पर्ने र भारतबाट आएको तरकारीको मूल्य सस्तो हुने हुँदा उपभोक्ताका लागि ठिक भए पनि किसान मारमा परेको उनको भनाइ थियो ।

यस्तै कालिकोटबाट अवलोकनमा आएकी किसान तारा शाहीले सहास नेपालले आफुहरूलाई कृषि क्षेत्रमा निकै सहयोग गरेको बताइन् । उनले कृषि पेसामा शिवालयका समूहहरूले निकै राम्रो आम्दानी गरेकाले आफूहरूले पनि यसबाट सिक्ने अवसर पाएको बताइन् । कालिकोट र जाजरकोटका किसानहरूले पहिले बाँझो जग्गा छोड्दै गएको तर पछिल्लो केही समय यता सहास नेपालबाट सहयोग पाएको हुँदा कृषि पेसामा आबद्ध भएको बताएका थिए ।

कार्यक्रममा शिवालय कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक विश्वामित्र शर्माले शिवालयका ९ वडामध्ये २ नम्बर वडा तरकारीको पकेट क्षेत्र भएको जानकारी दिए । अन्य वडामा स्थानीयहरू कृषि पेसा गर्न छोड्दै गएको बताउँदै उनले २ नम्बर वडामा भने बाँझोमा पनि तरकारी खेती लगाउँदै गएको बताए । साथै यहाँ स्थानीय सरकार र सहास नेपालको साझेदारीमा विभिन्न कार्यक्रम गर्न सफल भएको हुँदा पछिल्लो समय कृषि पेसामा धेरैको आम्दानी राम्रो भएको उनको दाबी थियो ।

उनले भारतबाट आएको तरकारीको दबदबाले यहाँका स्थानीय तरकारी बिक्रीमा समस्या भएको उल्लेख गर्दै यसमा स्थानीय सरकार एक्लैले मात्रै भारतको तरकारी आयातमा रोक लगाउन नसकिने बताए । प्राविधिक सहायक शर्माले स्थानीय सरकारले ढुवानी, बिक्री वितरणमा प्रचार प्रसार लगायतमा कृषकलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै शिवालय गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले शिवालय गाउँपालिकामा पनि आगलागी, पानीका मुहान सुक्न जाँदा जलवायुमा असर गरेको उल्लेख गरे । उनले अब यसलाई न्युनिकरण गरी पालिकालाई नै जलवायु ऊत्थानशिलका लागि सहास नेपालले निकै योगदान दिएको बताए ।

उनले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउँदै पानीका मुहान संरक्षण गर्ने, पोखरी बनाउने, कृषि क्षेत्रमा अग्रसर हुन उनले आग्रह गरे । उनले सहाससँगको सहकार्यलाई सुदृढ पार्ने र समीक्षा सत्रहरूमा प्राप्त सिफारिस गरिएका सुझावहरूको लागि अपनाउने संयन्त्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रशासकीय अधिकृत शाहीले स्थानीय सरकारले गर्नुपर्ने काम सहास नेपालले गरेको हुँदा आफु निकै खुसी भएको बताए ।

यस्तै कार्यक्रममा कीट मुद्दाहरूको लागि किसानहरूको क्षेत्रमा विभिन्न जैविक जैविक कीटनाशकहरूको प्रभावकारितामा अनुसन्धानलाई एकीकृत गर्ने, स्थानीय आदिवासी ज्ञान र अभ्यासहरूलाई मापन गर्ने, आदिवासी मौरी पालनको संरक्षण प्रयास बढाउने, बजार सम्बन्धलाई सुदृढ पार्ने र मूल्य शृंखला विकासलाई प्राथमिकता दिनेलगायतका विषयमा सबैको एक्यबद्धता थियो ।

यस्तै नरहरिनाथका उपाध्यक्ष शाहले अवलोकन तथा यात्रा सेमिनारका क्रममा धेरै कुरा सिकेको हुँदा उक्त कुराहरूलाई आफ्नो पालिकामा पनि लागू गर्ने बताए । साथै किसानका लागि स्थानीय सरकार प्रथामिकतामा रहेको समेत दाबी गरे । कर्णाली भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायतले किसानमा जोस जाँगर तथा मेहनत देख्दा निकै खुसी भएको बताए ।

उनले भारतको तरकारीको दबदबाले यहाँका किसानमा समस्या हुनु निकै दुःखद् भएको बताउँदै मन्त्रालयबाट यसलाई रोक्न भन्दा पनि विषादी परीक्षणमा ध्यान दिने र उक्त तरकारीलाई रोक्नमा केही सहयोग गर्ने बताए । उनले किसानमा सिँचाइको समस्या समाधान गर्नका लागि मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए । प्रमुख कठायतले सीमान्तकृत समुदायलाई सहयोग गर्ने सहास नेपालको प्रयासलाई प्रशंसा गरे । उनले वडा र समुदायसँगको सहकार्यमा विभिन्न तालिमको आयोजना गर्न मन्त्रालय तत्पर रहेको बताए ।

सो कार्यक्रममा कालिकोट नरहरिनाथबाट उपाध्यक्ष शाहको नेतृत्वमा करिब २२ जना कृषक सहभागी भएका थिए । सहभागीहरूले समुदायले अवलम्बन गरिरहेका जलवायु मैत्री प्रविधिहरूः घर बगैँचा, प्लास्टिक घरमा तरकारी खेती, थोपा सिँचाइ, खेर गएको पानी संकलन, सामुदायिक पोखरी, गड्यौला मल अवलोकन र प्रविधिबारे सिकाई आदानप्रदान गरेका थिए ।

यस्तै झोलमोल तथा जैविक विषादी, बिरुवा उत्पादनका लागि नर्सरी, साना पशुपन्छी पालन र व्यवस्थापनका लागि अर्धबन्धेज खोर, व्यावसायिक तरकारी र फलफूल खेती, गोठ तथा भकारो सुधार, रोग तथा किरा नियन्त्रणका लागि जैविक प्रविधि आदिको समेत सिकाइ आदानप्रदान गरेका थिए ।

सहभागीहरूले शिवालय गाउँपालिका-१ मा रहेको जनप्रभात माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत जलवायु मैत्री कृषि प्रयोगात्मक सिकाइ केन्द्रको समेत अवलोकन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise