२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

चम्घाका घरघरमा खानेपानी धारा

himalayanlife
२०८१ चैत १४ गते ०७:५५
Shares
चम्घाका घरघरमा खानेपानी धारा

त्रिवेणी : घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् ।पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पुर्‍याएपछि त्यो समस्या समाधान भएको छ ।

डोको र गाग्री बोकेर पानी लिन मुहानमा जानुपर्ने अवस्थाबाट घरमै खानेपानीको धारा आउँदा स्थानीय सत्रमाया कुमाल खुसी छिन् । उनी भन्छिन्, “डोकोमा बोकेर ल्याएको पानी खाइन्थ्यो, गाग्री बोकेर हैरान हुन्थ्यौँ । कपडा बोकेर धुन लैजानुपर्ने, पानीका लागि पालो कुर्नुपर्ने अवस्था थियो । पालो कुर्दा खेताला जान पनि अबेर हुन्थ्यो, धेरै दुःख खेप्यौँ”, उनले भनिन्,“ अचेल त घरमै खानेपानीको धारा आएकाले, चाहिएको बेला थाप्यो, खायो, लुगा धोयो । त्यही भएर गाग्री पनि रित्तो छ, पानी भरेर राखिरहनुपर्ने झण्झट छैन ।”

बुद्धि विकास प्राविका प्रधानाध्यापक श्रीधर कुमाल पनि विगतमा खानेपानीको सुविधा नहुँदा विद्यार्थीले पानी बोक्नुपर्ने हुँदा पठनपाठनमा पनि असर परेको स्मरण गर्छन् । “यहाँ बासिन्दाले खानेपानीको समस्या त कति झेले झेले १ विद्यालयमा समेत खानेपानी र सरसफाइमा समस्या थियो, पानी भर्न जाँदा विद्यार्थीको पठनपाठनै प्रभावित हुने अवस्था पनि आउँथ्यो तर हाल खानेपानी योजना सम्पन्न भएपछि त्यो समस्या टरेको छ । जीवनयापन सहज भएको छ”, उनले भनिन् ।

खोक्रेनी पँधेरोस्थित मुहानबाट खानेपानी लिफ्टिङ गरेर चम्घा र ददरालीका १२० परिवारलाई खानेपानी वितरण गरिएको चम्घा ददराली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खड्कबहादुर कुमालले जानकारी दिए । मोटरबाट पानी तानेर गाउँको माथिल्लो भागमा निर्माण गरिएको ट्याङ्कीमा जम्मा गर्ने र त्यसैबाट घरघरमा वितरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । आयोजना बनेपछि विगतको समस्या समाधान भएको र थप घरमा समस्या समाधानको प्रयास भइरहेको अध्यक्ष कुमालको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत यहाँ खानेपानीको बहुवर्षीय योजना सञ्चालन गरी हालै घरघरमा पानी पु¥याइएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताए । गण्डकी प्रदेश सरकारको हरेक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यअनुसार चम्घामा करिब रु एक करोडको लागतमा लिफ्टिङ खानेपानी योजना निर्माण गरिएको उनले बताए ।

लिफ्टिङ खानेपानी योजनाबाट मुहान व्यवस्थापन, रिजर्भ ट्याङ्की निर्माण, पाइप विस्तार मिटर जडान, उपभोक्ताको घरमा धारा जडानलगायत कार्य गरिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर