काठमाडौँ : संघीय संसद्का दुवै सदनको बैठक बिहिवार बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १२: १५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको प्रतिनिधि सभाको बैठक अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची ।
त्यस्तै, बैंकिङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची ।
बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले लोक सेवा आयोगको पैँसट्ठीऔं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेस गर्नेछन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय सभा बैठकका लागि पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।