पोखरा : नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंस्थित अमेरिकी राजदूतावासले अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धालाई गत सोमबार पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित एक होटलबाट अपहरणमा परेको खबर प्राप्त गरेको थियो ।
अपहरणकारीले फिरौती बापत तीन लाख युरो मागिएको पनि कास्की प्रहरीलाई जानकारी गराइएको थियो । अनुसन्धान गर्दै प्रहरीले ती वृद्धालाई अपहरण गरेको आरोपमा एक जना महिलालाई पनि पक्राउ गरेको छ । अपहरण गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नो साथीहरुसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएकी ती अमेरिकी वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटाैंडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय हिरासतमा रहेकी सरिता लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।