
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । सीजेएनले गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी कारण प्रभावितहरुको उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यका साथ उक्त कोषमा आर्थिक सहयोग गरेको हो ।
समाजले सो कोषमा ५७ हजार ५०० रुपैयाँ सहयोग गरेको अध्यक्ष अर्जुन खतिवडाले बताए । सीजेएनले स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको ‘राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार २०८३’ स्थगन गरी सो वापतको २० हजार, १६औं स्थापना दिवसमा प्रकाशित स्मारिकाबाट संकलित रकममध्येबाट १० हजारका साथै सीजेएन कार्य समिति, सल्लाहकार र सदस्यबाट संकलित समेत गरी ५७ हजार ५०० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको हो ।
मुलुकमा आएको विपद्को समयमा सीजेएनले आफ्नो तर्फबाट सकेको योगदान गरिएको अध्यक्ष खतिवडाले बताए । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको सीजेएनले जनाएको छ ।
सीजेएनले दुःखद् घडीमा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । प्रभावित सम्पूर्ण परिवारप्रति सीजेएनले ऐक्यबद्धता प्रकट गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।