२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

१५ दिन इन्टरनेट काट्दा क्लासिक टेकलाई साढे दुई लाख जरिवाना

Nada
२०८३ असोज २ गते १५:११
Shares
१५ दिन इन्टरनेट काट्दा क्लासिक टेकलाई साढे दुई लाख जरिवाना

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एक उपभोक्ताको १५ दिन इन्टरनेट सेवा अवरुद्ध गरेको विषयमा उपभोक्ता अदालतले साढे दुई लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ ।

ncell

बिहीबार भएको फैसलामा क्लासिक टेकले विभिन्न बहाना बनाएर उपभोक्तासँग थप रकम मागेको र सेवा अवरुद्ध गरेको उल्लेख छ । फैसलाअनुसार कम्पनीले कहिले ‘फाइबर ब्रिकेज भएको’, कहिले ‘पोल सारिएको’, कहिले ‘अर्को कम्पनीले तार काटेको’ तथा कहिले ‘तपाईंको तार धेरै माथि छ’ जस्ता कारण देखाएको थियो ।

कम्पनीबाट जोडिएको इन्टरनेट १५ दिनसम्म अवरुद्ध भएपछि उपभोक्ता शिव प्रकाश न्याय माग्दै उपभोक्ता अदालत पुगेका थिए । अदालतले सोही मुद्दामा कम्पनीलाई साढे दुई लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलले फैसलाको पूर्णपाठ आउन भने अझै तीन–चार साता लाग्ने बताए। पूर्णपाठ आएपछि अदालतको फैसलाका आधार र विस्तृत विवरण स्पष्ट हुने उनले बताए ।

समस्या लिएर धेरै निकाय पुगे

फैसला आफ्नो पक्षमा आएपछि लेखकसमेत रहेका शिव प्रकाशले सामाजिक सञ्जालमार्फत आफूले उपभोक्ता अधिकारका लागि न्यायिक लडाइँ जितेको बताएका छन्। उनले यस्ता समस्या भोगेका उपभोक्तालाई थापागाउँस्थित उपभोक्ता हित संरक्षण मञ्चमार्फत सहयोग लिनसमेत आग्रह गरेका छन् ।

प्रकाशले इन्टरनेट सेवा अवरुद्ध भएपछि समस्या समाधानका लागि क्लासिक टेकलाई पटक–पटक फोन र म्यासेज गरेको बताए। त्यसबाट समस्या समाधान नभएपछि प्रहरी, जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल दूरसञ्चार प्राधिकरण, ‘हेलो सरकार’, सञ्चार मन्त्रालय, मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसम्म आफ्नो समस्या लिएर पुगेको उनले बताए ।

‘यो मुद्दासम्म आइपुग्न मैले लामो यात्रा तय गरेँ । क्लासिक टेकलाई पचासौँ फोन र म्यासेज गरेँ । प्रहरीदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल टेलिकम अथोरिटी, हेलो सरकार, सञ्चार मन्त्रालय, मन्त्रीज्यू र रास्वपाका सांसदहरूसम्म आफ्नो समस्या लिएर पुगेँ,’ उनले भने, ‘तर, दुःखका साथ भन्नुपर्छ–अन्त्यमा मैले सबै ठाउँमा एउटै कुरा पाएँः समस्या समाधान गर्ने जिम्मेवारी र अधिकार हुँदाहुँदै पनि सबै निरीह जस्तै देखिए ।’

अधिकारका लागि लडाइँ

सम्बन्धित निकायबाट समस्या समाधान नभएपछि आफू उपभोक्ता हित संरक्षण मञ्चमा पुगेको र त्यहीँबाट उपभोक्ता अदालतमा मुद्दा दायर गरेको प्रकाशले बताए ।

‘तर म निहिर र निराश भएर बसिनँ । उपभोक्ता हित संरक्षण मञ्चमा गएँ र त्यसैमार्फत उपभोक्ता अदालत पुगेँ । मैले चालीस दिन कुरेँ र ४१ औँ दिनमा मुद्दा दायर गरेँ,’ उनले भने ।

आफूले गरेको कानुनी संघर्ष व्यक्तिगत क्षतिपूर्ति वा पैसाका लागि मात्र नभएको उनको भनाइ छ । ‘यो लडाइँ पैसा वा व्यक्तिगत क्षतिका लागि मात्र होइन । उपभोक्ताले आफ्नो अधिकारका लागि बोल्नुपर्छ भन्ने चेतना फैलाउन, उपभोक्ताको अधिकार स्थापित गर्न र न्यायका लागि पनि हो,’ उनले भने ।

ताजा खबर

सम्बन्धित खबर