
ओखलढुंगा : नेपाली कांग्रेस ओखलढुंगा १५औं अधिवेशनको तयारीमा जुटेको छ । पार्टीका सबै नेता कार्यकर्ता ताथ क्रियाशील सदस्यहरू आ–आफ्नो वडामा केन्द्रित भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले ७५ वडाकै अधिवेशन ४ गते गर्ने निर्णय गरेको छ ।
सोही अनुसार एक नगरपालिकासहित आठ वटै स्थानीय तह अन्तर्गतका ७५ वडाको अधिवेशन सर्वसहमतिका आधारमा नेतृत्व चयन गर्ने गरी आवश्यक तयारी भइरहेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति तेजेन्द्र खनालले बताए । ४ गते वडा अधिवेशनबाट आएका क्षेत्रीय प्रतिनिधिहरूले पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिने छन् ।

उनीहरूमध्येबाटै पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको कार्यसमिति प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिधि चयन हुने छन् ।
कांग्रेस पार्टीको आन्तरिक अधिवेशनलाई विशेष महत्वकासाथ हेर्ने गरिन्छ । करिब आठ हजार क्रियाशील सदस्यता रहेको जिल्लामा करिब २ हजार क्षत्रीय प्रतिनिधि आउने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउनेदेखि सम्पूर्ण तयारी पूरा भइसकेको सभापति खनालले बताए ।