लिस्बन : गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्व अध्यक्ष डा.शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रियालाई सम्बोधन गर्दै संयोजक घलेले ३ महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा संघको महाधिवेशन हुने बताए ।
घलेले भने,‘तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनैपनि हालतमा मिति परिवर्तन हुँदैन ।’
उनले नयाँ संरचनासहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरुलाई आह्वान गरे । आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भइ एकताको महाधिवेशनलाई सफल पार्न घलले आग्रह गरे ।
पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताए । उनले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए । संघका पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका अर्का सदस्य विनोद कुँवरले सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधि अनुरूप एकताको महाधिवेशन तयारी भइरहेको बताए ।
संघका अध्यक्ष राजेन्द्रकुमार शर्माले संघलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरुको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्नेमा जोड दिए । सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौंमा संघको एकता महाधिवेशनको मिति तय गरिसकेको छ ।
संघकी अध्यक्ष दीपा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका पूर्वसंरक्षक दिल गुरुङ, संघका पूर्वकेन्द्रीय उपाध्यक्ष थर्क सेन, एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा, संघका केन्द्रीय सह–कोषाध्यक्ष तिलक गैरे, एनआरएनए अभियन्ता गंगाधर गौतम, एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालल, पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वअध्यक्ष सोमफुरी शेर्पा, उपाध्यक्ष सुजन लामा, महिला संयोजक सरिता शर्मा, कार्यवाहक महासचिव दिपेश बिष्टलगायतले मन्तव्य राखेका थिए ।