नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार अझै संचालनमा आउन सकेको छैन । ५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको शीतभण्डार संचालन नहुँदा अन्योलता छाएको छ ।
लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको लागतमा निर्माण गरिएको ५०० मेट्रिक टन क्षमताको शीतभण्डारलाई चाहिने आवश्यक कृषि उपजको अभावमा संचालनमा ल्याउन नसकिएको हो ।
शीतभण्डार निर्माण गरिएको क्षेत्रमा आवश्यक कृषि उपजको उत्पादन नभएका कारण संचालनमा ल्याउन नसकिएको गाउँपालिका अध्यक्ष टेकनरायण उपाध्यायले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको मुख्य बाली भनेको उखु र केरा खेती हो । तर भण्डारणका लागि आवश्यक पर्ने आलु, प्याजलगायतका तरकारी र
फलफुल जस्ता चिज आवश्यक पर्ने भएका कारण शीतभण्डार प्रयोगविहीन बनेको उनले बताए ।
प्रदेश र पालिकाको ठूलो लगानीमा बनेको शीतभण्डार प्रयोगमा नआउनु चिन्ताको विषय रहेको भन्दै अध्यक्ष उपाध्यायले अब निजी क्षेत्रलाई भएपनि ठेक्कामा दिएर संचालनमा ल्याउने सोच बनाएको बताए ।
उता केरा उत्पादक समिति नवलपरासीका अध्यक्ष लख्खु यादवले किसानहरुका लागि अत्यावश्यक भएपनि संचालनमा ल्याउन नसक्दा घाटा सहुन परेको बताए । उनले बनेका संरचना समेत प्रयोगमा नआउँदा खराब बन्दै गएको गुनासो गरे ।
हालसम्म, सरकार र सरोकारवालाबीच स्पष्ट निर्णय हुन सकेको छैन, जसका कारण शीतभण्डार अलपत्र अवस्थामा रहन गएको देखिन्छ । यो अलमल लामो समय जारी रह्यो भने संरचना प्रयोगविहीन भएर बिग्रने वा संचालन लागत बढ्ने जोखिम बढेको सरोकारवालाहरु बताउँछन् ।