२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

Nada
२०८१ चैत १५ गते १४:०८
Shares
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंंविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै प्रसाईंविरुद्ध उजुरी परेको हो । 

ncell

शुक्रबार साइबर ब्यूरोमा मायाको पहिचान नेपालले प्रसाईंंले दिएको अभिव्यक्ति नेपालको एलजिबिटिआई समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान भएको भन्दै उजुरी दिएको हो । 

उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईंंले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन् । उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन् । जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो ।’

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तका अनुसार प्रसाईंको अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानुनी कारबाही गर्न, एलजिबिटिआई समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न र नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार र गरिमालाई सुरक्षित राख्न यस भ्रामक सूचना अभियानविरुद्ध तुरुन्तै कारबाही गर्न माग गरिएको हो । 

नेपालका सर्वोच्च अदालतले २००७ मा समलिङ्गी दम्पतीहरूको अधिकारलाई मान्यता दिँदै सरकारलाई समलिङ्गी विवाहलाई कानुनी बनाउन निर्देशन दिएको थियो भने २०२३ जुन २७ मा सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न अनुमति दिने अन्तरिम आदेश जारी गरेको थियो । हालसम्म १२ समलिङ्गी दम्पतीहरूले कानुनी रूपमा विवाह दर्ता गरिसकेका छन् । नेपाल संविधानले पनि समुदायको अस्तित्व र अधिकारलाई मान्यता दिएको छ र समान सुरक्षा तथा अवसर सुनिश्चित गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर