काठमाडौंः वर्तमान गणतान्त्रिक व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा शुक्रबार एकै दिन २ प्रदर्शन भए । भृकुटीमण्डपमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरे ।
तर, राजावादीको प्रदर्शन भने हिंसात्मक बनेको छ । प्रदर्शनकारीले लुटपाट मच्चाउनुका साथै आगजनी र तोडफोड गरेका छन् । स्थिति काबुबाहिर गएसँगै स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा कफ्र्यू लगाएको छ ।
राजतन्त्र पुनस्र्थापना गर्न नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसहित राप्रपालगायत समूहले प्रदर्शन गरेका थिए ।
समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीले गरेको गणतन्त्र पक्षको आन्दोलन भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
कसरी भयो अनियन्त्रित ?
प्रशासनले राजावादीहरूलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने स्थान तोकेको थियो । उता, समाजवादी मोर्चाको कार्यक्रम भृकुटीमण्डपमा तय भएको थियो । मोर्चाको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न हुँदा राजावादीहरूले भने सुरुदेखि नै निषेधित क्षेत्र उल्लंघन गरेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेका थिए ।
तीनकुने क्षेत्रमा राजावादीको शक्ति प्रदर्शन सुरु हुँदै गर्दा आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईँ आफैं द्रुत गतिमा कार हाँकेर निषेधाज्ञा तोड्न तम्सिएका थिए । तीव्र गतिमा गाडी चलाउँदै उनले प्रहरी घेरासमेत तोडेका थिए । उनले आन्दोलनकारीहरूलाई अघि बढ्न हौस्याएपछि प्रदर्शनकारीहरू उग्र र अराजक बनेका थिए ।
निषेधित क्षेत्र तोड्न नदिएको आक्रोशमा प्रदर्शनकारीहरू भौतिक संरचना तोडफोड, आगजनी र लुटपाट गर्नतिर लागे । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा लाठी प्रहार, अश्रुग्यास र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेन बरु प्रदर्शनकारीहरूले थप अराजक बन्दै व्यक्तिका घर, सरकारी तथा निजी घर गाडी, प्रहरी बिट, पार्टी कार्यालय तोडफोड र आगजनी गरे । उनीहरूले आसपासका घर, पसल तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी गरे भने कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा लुटपाट गरे ।
राजावादीहरूले कान्तिपुर टीभीको भवन, अन्नपूर्ण पोस्टको कार्यालय भवन, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयसहित कोटेश्वस्थित प्रहरी बिटलगायतका संरचना तोडफोड गर्नुका साथै कतिपयमा आगजनी गरे । जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालयसमेत उनीहरूले जलाएका छन् ।
आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी)को कार्यालयका कागजपत्र तथा फर्निचरहरू बाहिर निकालेर जलाउनुका साथै कार्यालय भवनमै आगो लगाएका छन् । राजवादीको ढुंगा प्रहारबाट तीनकुने र कोटेश्वर क्षेत्रमा व्यक्तिका दर्जनौं निजी घरका सिसा फुटेका छन् । राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौं प्रशासनले शुक्रबार साढे ४ बजेदेखि गौशाला, तीनकुने, गैरीधारा, कोटेश्वर, जडीबुटी, बालकुमारी, शंखमूल, पुरानो बानेश्वर र नयाँ बानेश्वर आसपास निषेधाज्ञा लगाएको थियो ।
शुक्रबार प्रदर्शन आह्वान गरेको अघिल्लो दिन बिहीबार प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर राजसंस्था र हिन्दु राज्य स्थापना गराउनु आफ्नो धर्म भएको बताएका थिए । त्यसै दिन उनी राजावादीतर्फको संयुक्त जनआन्दोलन समितिको कमान्डरसमेत तोकिएका थिए । राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि उनीहरूले तय गरेको सभा गर्ने कार्यक्रम पनि आफ्नै कारणले बिथोलियो ।
प्रदर्शनमा पुगेका राप्रपाका महामन्त्री धवलशम्शेर जबराले आफूहरू मञ्चमा आउँदाआउँदै प्रहरीले धरपकड गरेपछि अवस्था बिथोलिएको दाबी गरे । संसद्को पाँचौं ठूलो दल रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले राजतन्त्रको पुनस्र्थापना र हिन्दु राज्यको मुद्दा उठाइररहे पनि सुवेदीको नेतृत्वमा गठन भएको समिति सक्रिय भएर प्रसाईंलाई कमान्डर बनाइएपछि त्यसको नेतृत्वमा राप्रपा देखिनुले धेरै राजावादीलाई आश्चर्यमा पारेको छ ।
कुनै बेला माओवादीमा रहेका र पछि एमालेको केन्द्रीय सदस्य बनेका प्रसाईं छोटो समयकै अन्तरालमा राजावादी आन्दोलनको मुख्य अनुहार बनेपछि धेरैले चासोपूर्वक हेरेका छन् । व्यक्तिगत तथा सार्वजनिक जनधनको क्षति हुनेगरी राजावादीको आन्दोलन भड्किएपछि उनको नेतृत्वलाई लिएर प्रश्नहरू पनि उठेका छन् । आन्दोलनका नेता भएर पनि उनी स्वयंले देखाएको अराजक शैलीका कारण नै राजावादीको प्रदर्शन अराजक बनेपछि सरकारले उनीमाथि कारबाही गर्ने संकेत गरेको छ ।
विश्लेषकरू राजावादीको शुक्रबारको प्रदर्शनले उनीहरूको आन्दोलन पहिलो चरणमै निस्तेज भएको बताउँछन् । बारम्बार विवादित अभिव्यक्तिहरू दिएर चर्चामा आउने प्रसाईं सुरुमा डा. गोविन्द केसीको आन्दोलनविरुद्ध उभिएर चर्चामा आएका थिए । सरकारलाई दबाबमा पार्नेगरी मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्साशास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुनेलगायतका माग राखेर केसी अनसनमा बस्दा प्रसाईंले त्यसविरुद्ध उभिएका थिए ।
विश्लेषकहरूका अनुसार पूर्वराजालाई गद्दी चाहिए पनि उनमा दूरगामी सोच भने छैन । पूर्वराजाले आन्दोलनको नेतृत्व गर्ने जिम्मा प्रसाईंलाई दिनु नै उनको पहिलो असफलता भएको टिप्पणी पनि गरिएको छ । उनीहरूका अनुसार संस्थागत हिसाबले राप्रपा, राप्रपा–नेपाल पनि आन्तरिक विवादका कारण पूर्वराजासँग रुष्ट देखिन्छन् । कोही पाखा लागेर बसेका छन् । ती सबैलाई परिचालन गरेर जान सक्ने सोच पूर्वराजाको पनि देखिँदैन ।
२ जनाको मृत्यु
शुक्रबार भएको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ । तीनकुनेमा भएको प्रदर्शनका प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका– ४ गाम्चाका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ ।
प्रहरीका अनुसार झडपका क्रममा उनको घाँटीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनको उपचारार्थ लैजाँदा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी राजावादीले आगजनी गरेको तीनकुनेस्थित एक घरमा जलेर १ जना पत्रकारको मृत्यु भएको छ । राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाइएको उक्त भवनमा जिउँदै जलेर एभिन्युज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको हो ।
कहाँ चुक्यो प्रहरी ?
राजावादीको प्रदर्शन हिंसात्मक हुन सक्ने सूचना गृह मन्त्रालय र सुरक्षा अंगले बिहीबार नै पाएका थिए । त्यस हिसाबले शुक्रबारको प्रदर्शनलाई ध्यान दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रसाईंले निषेधित क्षेत्र ताडेपछि सुरक्षाकर्मीले उनलाई रोक्न नसक्नुले नै प्रदर्शनलाई हिंसात्मक बन्न सहयोग गरेको हो । तीनकुने क्षेत्रमा बानेश्वर वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी)ले कमान्ड गर्न नसकेको र फिल्डमा खटिएका प्रहरी उपरीक्षक (एसपी)ले आदेश दिन नसकेको देखिएको छ । साथै, काठमाडौं उपत्यकाको कमान्ड गरिरहेका अतिरिक्त महानिरीक्षक (एआईजी)ले पनि फिल्डमा खटिएका कर्मचारीलाई उपयुक्त निर्देशन दिन चुकेका हुन् ।
प्रसाईंलाई प्रक्राउ गर्न आदेश
आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । उनी अहिले सम्र्पकविहीन भएका छन् । उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन । उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटेको छ ।
भीडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट बाहिरिएका थिए । उनीविरुद्ध यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले साइबर अपराधमा उजुरी दर्ता पनि गराएका छन् । प्रहरीले आन्दोलनको अघिल्लो दिन केही व्यक्तिमाझ दुर्गा प्रसार्इंले आन्दोलनमा दमन गर्ने अवस्था ल्याउने र केही मान्छे मरेपछि नेताहरूका घर र पार्टी कार्यालयमा छिर्ने योजना बनाएको भिडियोसमेत भेटेपछि उनलाई पक्राउ गर्न लागिएको हो ।
के भन्छ सरकार ?
गृह मन्त्रालयका सहसचिव छवि रिजालले पूर्वराजाका समर्थकहरूकोे प्रदर्शन हिंसात्मक भएका कारण सरकारले आगामी दिनमा त्यसविरुद्ध कडा नीति अपनाउने चेतावनी दिएका छन् । ‘यो आपराधिक लुटपाटको हिंसाजनक अमानवीय कार्य हो । यसमा सरकार आज जस्तै संयमित भएर आगामी दिनमा बस्छ जस्तो मलाई लाग्दैन’, उनले भने । उनले ठूलो परिमाणमा क्षति हुँदै गयो भने सरकारको मूलभूत दायित्व व्यक्तिको सम्पत्तिको सुरक्षा गर्नु रहेको बताए ।
‘आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मूलभूत रूपमा तोडफोड र आगजनीको घटनाप्रति उहाँ नै जिम्मेवार हुनुहुन्छ । जति पनि क्षति भएको छ, यसको पूर्ण रूपमा जिम्मेवारी पनि आयोजकका तर्फबाट उहाँहरूले नै लिनुपर्छ’, मन्त्रालयले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा रिजालले भने । घटनामा कानुनको उल्लंघन गर्नेलाई कारबाही गरिने पनि उनले चेतावनी दिए ।
यसबीच समाजवादी मोर्चाले राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको छ । मोर्चाले आफ्नो प्रदर्शनपछि विज्ञप्ति जारी गरेर राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको हो । ‘यो उच्छृंखल र अराजक कार्यको हामी घोर भत्र्सना एवं निन्दा गर्दछौं’, समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले राजावादीको गतिविधिमा संलग्नलाई कारबाही गर्न माग पनि गरेका छन् । पुनरुत्थानवादी र उच्छृंखल प्रतिगामी तत्त्वहरूले अराजकता सिर्जना गर्दै अगाडि बढेका उनीहरूले भनेका छन् ।