रौतहट : श्रमजीवी पत्रकार संघ रौतहटले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । रौतहटको सदरमुकाम गौरस्थित घण्टाघर चोकमा संघले विरोध प्रदर्शन गर्दै एभिन्युज टिभीका क्यामेरा पर्सन रजकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको हो ।
प्रदर्शनमा सहभागी पत्रकार तथा समर्थकहरूले विभिन्न नारा लगाउँदै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका थिए । सो घटना प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षासम्बन्धी ठूलो चिन्ताको विषय बनेकाले यस्ता घटनाहरूको विरोध गर्न र अपराधीलाई दण्डित गर्न संघले माग गरेको छ ।
गत शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा एक घरमा आगजनी गर्दा पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, तोडफोड गर्ने, सवारी साधनमा आगो लगाउने अमानवीय कार्य भएको भन्दै संघले आपत्ति जनाएको छ ।
जनतालाई सुसूचीत गराउने र विचार निर्माणमा सघाउने प्रेस जस्तो भरपर्दो संचार संस्थामा आगजनी र तोडफोड तथा संचारकर्मीको ज्यानै जाने गरी भएको यस घटनाले समग्र संञ्चारजगत आतंकित भएको बताउँदै संघले सुरक्षाको प्रत्याभूति दिन नसक्ने सरकारको रवैया पनि उत्तिकै निन्दनीय रहेको बताएको छ ।
क्षति पुर्याइएका संचारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र संचरकर्मीको सुरक्षामा गम्भीर हुन सरकारसमक्ष माग राखिएको श्रमजीवी पत्रकार संघ रौतहटका अध्यक्ष सन्तोष पौडेलले मध्यान्हलाई बताए ।