काठमाडौं : राजावादी समूहद्वारा शुक्रबार गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न व्यक्तिहरूको पहिचान तथा अनुसन्धानका लागि नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा प्रमाण संकलनका लागि नागरिकसँग भएको तथ्यपरक सूचना, फोटो, भिडियो वा कुनै पनि प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो ।
प्रहरीका अनुसार प्राप्त सूचना तथा सूचनाकर्ताको गोपनीयता सुरक्षित राखिने छ ।
नेपाल प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक दिनेशकुमार आचार्यले भने, ‘जानीबुझी नै निजी तथा सरकारी सम्पत्तिको तोडफोड भएका छन । दुई जनाको ज्यान गएको छ । घटनामा संलग्नमाथि अनुसन्धान गरेर त्यस अनुरूप मुद्दा अघि बढाउँछौँ । सबै माथि अनुसन्धान हुन्छ । तपाईंसबैले सहयोग गरौं ।’
दुई जनाको ज्यान जाने गरी भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५१ जना प्रदर्शनकारीसहित १ सय २८ जना घाइते भएका थिए । प्रहरी परिसर काठमाडौंले हिंसात्मक प्रदर्शनमा निजी तथा सरकारी गरी १८ वटा भवन तोडफोड र आगजनी गरिएको जनाएको छ ।
राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड तथा लुटपाट गर्नुका साथै विभिन्न १२ स्थानमा आगजनी गरेको प्रहरीले जनाएको छ ।